
झापा, ४ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सानोतिनो हावाको झोंकाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नफुट्ने जिकिर गरेका छन् । बुधबार झापाको बिर्तामोडस्थित नेकपाको पार्टी कार्यालयमा प्रेस संगठन नेपाल जिल्ला कार्यसमिति झापाको शपथग्रहण समारोहलाई बिर्तामोडस्थित पार्टी कार्यालयमा सम्बोधन गर्दै मन्त्री भट्टराईले यस्तो बताएका हुन् ।
अहिलेको विवादलाई सामान्य हावाको झोंकाको संज्ञा दिँदै उनले अहिलेकै संवादका कारण पार्टी नफुट्ने बताए । पार्टी एकता संकटमा रहे पनि शीर्षस्थ नेताहरुको सुझबुझले पार्टी एकता जोगिने उनको विश्वास छ ।
मन्त्री भट्टराईले प्रतिकात्मक रुपमा नेकपालाई ‘ज्वरो’ आएको भए पनि ‘कोरोना संक्रमण’ नभएको भन्दै यो ‘सिजनल फ्लु’ आफैँ निको हुने उल्लेख गरे । पार्टीका विषयमा विभिन्न कोणबाट अनेक अड्कलबाजी गरिएको र भ्रम फैलाउने काम भएको भन्दै मन्त्री भट्टराईले पार्टी एकता जोगाउन सम्पूर्ण कार्यकर्ता पङ्क्ति एकजुट हुनुपर्ने बताए ।
‘‘नेकपाको स्वास्थ्य बिहानसम्म राम्रो थिएन, १०४ डिग्रीको हनहनी ज्वरो आएको अवस्था थियो, अहिले पार्टीको विवाद समाधान उन्मुख भएको छ”, उनले भने, “यो ज्वरो सिजनल फ्लु मात्र हो कोरोना लागेको होइन, मौसम परिवर्तनसँगै देखा पर्छ र यो मत्थर भइसकेको छ ।”
मन्त्री भट्टराईले पार्टीको एकीकरण र विवादमा विदेशी शक्तिले चलखेल गरेको आरोप अस्वीकार गर्दै आफ्नै बलबुतामा पार्टीभित्र एकता कायम हुने बताए । “हजारौँ कार्यकर्ता पङ्क्तिको विश्वास र योगदानबाट एकताबद्ध भएर समाजवादतर्फको फराकिलो मार्गमा पार्टी अघि बढ्छ, इन्डियनले फुटाउँदा फुट्ने र चाइनिजले जोड्दा जोडिने कुरा भ्रामक हो,” उनले थपे ।