
विराटनगर, ६ मंसिर । सूर्यको उपासना गरेर हिन्दू धर्मावलम्बीले मनाउने छठ पर्वको आज अन्तिम दिन । विशेष गरेर तराईमा मनाइने छठ पर्वमा आज ब्रतालुले उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएर पूजा समापन गरेका छन् ।
मोरङको विराटनगर, सुनसरीको देवानगञ्ज, हरिनगर, गढी, इनरुवा,भोक्राहा नरसिङलगायतको स्थानमा छठ धूमधामका साथ मनाइएकाे छ । केही भक्तजनहरुले नदी तथा जलासयमा सजिसजाउ गरेर छठ मनाए भने कसैले आफ्नै आँगनमा खाल्डो खनेर पूजा गरे ।
जिल्ला प्रशासन कार्यालय, मोरङले नदी तथा जलायसमा नभइ आफ्नै घर परिवारभित्रै चाड पर्व मनाउन अनुराेध गरेपछि विराटनगरमा पनि काेही आफ्नै घरमा सीमित भए । कसैले भने नदी तथा जलासयमा सतर्कता अपनाउँदै पूजा गरे ।
विराटनगरमा सुनसरी-मोरङ सिचाइँ आयाेजनाकाे नहरमा पूजाकाे माहोल विल्कुलै फरक थियो । अघिल्ला वर्षहरुका छठमा भीडभाड देखिने सो नहरमा कोरोना महामारीका कारण सामाजिक दूरीसहित पूजा गरियो ।
यसैगरी सुनसरीतिर बूढी खोला, मरिया खोलालगायत विभिन्न जलासयमा पूजा गरिएको थियो । जिल्ला प्रशासन सुनसरीले पनि चाडपर्वमा भीडभाड नगरिदिन आग्रह गरेपछि त्यता पनि कसैले खोलामा तथा कसैले घरभित्रै छठ पर्व मनाइ संस्कृति जोगाउने काम गरे ।
देवानगञ्ज गाउँपालिका-२ का अनिल यादव कोरोना महामारीका कारण सामाजिक दूरीसहित छठ मनाएकाे सुनाउँछन् । ‘कोरोना संक्रमणबाट सतर्कता अपनाउँदै पूरा गर्याैं, विगतका वर्षजस्ताे नरहेपनि संस्कृति जोगाउने काम गरियो,’उनले भने ।
ब्रतालुहरुले उदाउँदो सूर्यलाई अर्घ्य दिएर पूजा समापन गरेका छन् । र, यससँगै यस वर्षका छठ सकिएकाे छ । चार दिनसम्म कठोर व्रत बसी सन्तानको प्राप्ति, दीर्घायु, आरोग्य र मनोकामना पूर्ण गर्नका लागि यो पर्व मनाइने गरिन्छ । यस पर्वमा षष्ठी माता र सूर्यको पूजा गरिन्छ ।