
तनहुँ, ७ मंसिर । तनहुँकाे व्यास नगरपालिका–९ मेवाबारीका कृष्णबहादुर गुरुङले मौरी बेचर लोभलाग्दो कमाई गर्दै आएका छन् । गुरुङले घारमा मौरीको सङ्ख्या बढाउने र त्यसलाई छुट्टाएर बेच्दै आएका छन् ।
गत वर्ष घारको मौरी छुट्टाएर छ लाख र मह बेचेर एक लाख गरी सात लाख रुपियाँ मुनाफा आम्दानी गरेको गुरुङले जानकारी दिए । वार्षिक रुपमा १२ लाखको मौरी बेच्दै आएको र त्यसको आधा रकम खर्च हुने गरेको उनले बताए ।
मौरी बेच्नको लागि दुई सयवटा घार पालेको र वर्षिक रुपमा १५० देखि दुईसयवटा मौरीसहितको घार बेच्दै आएको गुरुङले बताए । एक घार मौरीको आठ हजार रुपियाँमा बेच्दै आएको गुरुङले जानकारी दिए ।
चार वर्षदेखि मौरी व्यवसायिक रुपमा बेच्ने कार्य गरेको बताउँदै उनले वार्षिक ५ देखि ७ लाख रुपैयाँ कमाइ हुने बताए । मौरी पाल्न दुःख नहुने र महको खोज्दै ग्राहक घरमै पुग्ने भएकोले परम्परागत रुपमा मुडे घारमा पाल्दै आएको सेरेना जातको स्थानीय मौरीलाई आधुनिक घारमा पालेर बेच्ने कार्यलाई व्यवसायिकता दिएको गुरुङले बताए ।
पानी कम परेको बेला मौरी पालनबाट धेरै आम्दानी हुने उनी बताउँछन् । मौरी पालनमा गुरुङ दक्ष भएकोले कृषकलाई तालिम प्रदान गर्नको लागि बोलाउने गरिएको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए ।
केन्द्रले आइतबारबाट जिल्लाका मौरी पालन अगुवा कृषकलाई दिइएको तालिममा पनि गुरुङले प्रशिक्षण दिएको केन्द्रले जनाएको छ ।
मह बेच्न भन्दा मौरी बेच्न धेरै फाईदा भएको गुरुङ बताउँछन् । मौरी र मह खोज्दै ग्राहक घरमा आउनेक्रम बढेकाले विस्तार गरिरहेको गुरुङले जानकारी दिए । साथै गुरुङले ९ रोपनी जमिनमा मौरी पालन गरेको बताए ।