
बागलुङ, ७ मसिर । बाग्लुङकाे गल्कोट नगरपालिका–१ दुदिलाभाटी चौराहका सन्तबहादुर बुढाथोकीको व्यवसायिक किवी खेतीबाट मनग्ये कमाउँछन् । ६१ वर्षिय ज्येष्ठ नागरिक बुढाथोकी होटल व्यवसाय छोडेर विगत ६ वर्षदेखि किवी खेतीमा लागिपरेका छन् ।
बुढाथोकीको होटलवालाबाट किवीवालाको रुपमा परिचय नै बदलिएको छ । जीवनकालको २५ बर्ष भारतमा सवारी चालक, १२ बर्ष काठेखोला गाउँपालिका बिहुँमा होटल व्यवसाय गरेर गरेर धित मरे पछि उनमा किवी खेतीको हुटहुटी चल्यो । घुमफरि गर्दै इलाम पुगेको समयमा त्यहाँको खेतीबाट प्रभावित भएर बुढाथोकीले आफ्नो १० रोपनी जग्गामा किवी लगाएका छन् ।
कोदो, गहुँ, मकै, केराउ उत्पादन हुने बारीमा अहिले किवीका लटरम्म फल देख्न सकिन्छ । ‘१० रोपनी जग्गामा उत्पादन हुने अन्नवाली भन्दा १० वर्षको एउटा बोटले बढी उत्पादन दिन्छ’ बुढाथोकीले भने, -‘माटोमा पसिना बगाउनु पर्यो, आत्मनिर्भर बन्न समस्या छैन ।’
बिरुवा लगाएको तीन वर्षदेखि उत्पादन सुरु भएको थियो । छैठौं वर्षसम्म आई पुग्दा यस वर्ष १३५ विरुवाबाट करिव १० क्विटन किबी उत्पादन हुने अपेक्षा गरेका छन् ।
किवी व्यापारीसँगको समन्वयमा बुढाथोकीले पोखरा, बुटवल, नारायणगढ बागलुङ बजार लगायतका सहरमा विक्रीको लागि पठाउने गरेका छन् । व्यापारीहरुले बारीमै आएर न्युनतम ३५० रुपियाँ प्रतिकिलोको दरले खरिद गर्ने उनको भनाई छ ।
अन्य खेतीबालीलाई जस्तो धेरै दुःख गर्न नपर्ने हुँदा काम गर्न सजिलो हुन्छ । विरुवा खरिद, फलाम तथा सिमेन्टको पोल निर्माण, बगैजा तयार जस्ता संचरना निर्माण गर्दा करिव २८ लाख रुपियाँ खर्च भएको बुढाथोकीले जानकारी दिए ।
बुढाथोकीले चोराह कृषी तथा पशुपालन फर्म दर्ता गरेका छन् । उनको फर्ममा मन्टी, हेलिसन र हेवार्ड जातका बोट छन् । आगामी वर्षदेखी आफनै नर्सरीमा विरुवा उत्पादन गरेर विक्री तथा खेती विस्तारको योजना बनाएका छन् ।
उनले भने, ‘अहिले किवी खेतीमा आकर्षण बढ्दो छ । बिरुवा विक्री गरेर पनि आम्दानी गर्न सकिन्छ ।’ मेहनत गर्न सके स्वरोजगारमा समस्या नहुने उनको भनाइ छ ।