
विराटनगर, ९ मंसिर । केही ठूला गह्रालाई बीच–बीचमा आली लगाएर बनाइएका आकर्षक गह्राहरू । त्यसमा तीनथरि बाली । मुख्य बाली मकैसँगसँगै ‘घुसुवा’ बालीका रुपमा धनियाँ र तोरीको साग । अनि मेहनतका साथ पानी पटाउँदै गरेका दुई बाबु–छोरा ।
देख्तै महमोहक दृश्य थियो, सुनसरीको देवानगञ्ज–२ मा । आफ्ना युवा अवस्थाका छोरा शमसेर अन्सारीसँग खेतमा काम गर्दै थिए जेष्ठ नागरिक निजामुद्दीन अन्सारी । उमेरले ८० वर्ष पुगेपछि पनि उनको जोस–जाँगरमा कमी थिएन ।
छ सन्तानका धनी निजामुद्दीनले बाटैछेउमा रहेको चार कठ्ठा जग्गा लिजमा लिएर खेती गर्दै आइरहेका छन् । बेग्लै एक विघा खेत भए पनि सो खेलमा उनी मुख्य बाली धान, गहुँ लगाउँछन् र लिजमा लिएको खेतमा आधुनिक तरिकाले बाली लगाउँछन् ।
छोरा शमसेरले भने बूढा भइसकेका बुबालाई सघाउँछन् । निजामुद्दीनले लिजमा लिएको खेतीबाट नै घरखर्च चलाइरहेका छन् । आफ्नो एक विघा खेतबाट वर्षभरि खाने अन्न निकाल्ने बताउँदै लिजमा लिएको खेतबाट घरखर्च चल्ने बताए ।
त्यति मात्र नभएर उनले सोही खेतीबाट आम्दानी भएको पैसाले आफ्ना छ सन्तानलाई सामान्यतया अक्षर चिनाए । उनका पाँच छोरा एक छोरी छन् । त्यसमध्ये दुई भाइ छोरा छुट्टिएका छन् भने एक भाइ वैदेशिक रोजगारमा छन् ।
घरखर्चका लागि विदेशमा रहेको छोराले केही रकम पठाए पनि प्रायः उनकै तरकारी खेतबाट आम्दानी भएको पैसा खर्च हुने उनी बताउँछन् । बाँकी बचेको केही पैसा भने उनी बचत गर्छन् ।
उनले केही वर्षअघिबाट एकैपटक तीन बाली उत्पादन गर्ने खेती गर्दै आएका छन् । मुख्य बाली मकैलाई ड्याङ मिलाएर रोप्ने अनि त्यसभन्दा तल ‘घुसुवा’ बालीको रूपमा धनियाँ र तोरीको साग फलाउँछन् ।
अघिल्लो सिजन उनले यसरी नै त्यहाँ उत्पादन गरेको धनियाँ २० हजार जतिको बेचेका थिए भने तोरीको साग ५ हजार जतिको बेचेका थिए । ‘अघिल्लो पटक मैले धनियाँ २० हजारको बेचेको थिएँ । अनि तोरीको सागबाट पनि ५ हजार जति कमाएँ,’ उनले भने, ‘मकैको आम्दानी छुट्टै हुन्छ । यसरी एकैपल्ट तीन बाली लगाउँदा समय पनि खेर जाँदैन ।’
प्रतिवर्ष १० हजार तिर्नेगरी लिजमा लिएको सो खेतीबाट उनले वार्षिक ५० हजार जति निकाल्छन् । हाल उनले रोपेको साग १५ दिनमा बेच्न लायक हुन्छ । धनियाँ पनि १५ दिनमै बेच्ने हुन्छ । तीन महिनाभित्रमा मकै भित्र्याउने बेला हुन्छ ।
धनियाँ र साग किन्न स्थानीय व्यापारी तथा विराटनगरसम्मका व्यापारी आउनेगरेको उनी बताउँछन् ।
‘उत्पादन भइसक्नेबित्तकै व्यापारी घरमै आउँछन् । नआएको खण्डमा आफैं बजार गएर बेच्छु’, उनले भने, ‘अब यसमा पटवा लगाउने निर्णय गरेको छु । पटवाको सागबाट पनि आम्दानी राम्रो छ ।’