
देवानगञ्ज, ९ मंसिर । सुनसरीको देवानगञ्ज गाउँपालिकामा ५ बेडको अस्थायी कोभिड अस्पताल सञ्चालनमा आएको छ । मंगलबार देवानगञ्ज गाउँपालिका वडा नं७, राजगञ्ज सिनवारीमा अस्थायी कोभिड अस्पताल उद्धाटन भएको हो ।
अक्सिजनसहितको पाँच बेडको कोभिड अस्पताल आजबाट सुरु भएको छ । सरकारको नीतिअनुसार एक जना एमबीबीएस डाक्टर, दुुई जना स्टाफ नर्स र कार्यालय सहयोगी नियुक्ति गर्दै आजबाट कोभिड अस्पताल सञ्चालनमा आएको हो ।
उद्धाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष लालीप्रसाद मेहता, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुडामणि गुरागाईं, वडाध्यक्षहरू तथा कार्यपालिका सदस्यहरूको उपस्थिति रहेको थियो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले कोभिड अस्पतालमा नियुक्ति भएका कर्मचारीहरूलाई कोरोना नियन्त्रणमा आइसकेपछि पनि केही समय निरन्तरता दिइने बताए ।
सरकारको नीतिअनुरुप कोभिड अस्पतालमा नियुक्त भएका कर्मचारीले तीन महिनासम्म वा कोरोना नियन्त्रण भइञ्जेलसम्म सेवा गर्न पाउँछन् । तर, देवानगञ्ज गाउँपालिकाले भने कर्मचारीलाई अरु थप केही समय सेवा गर्न दिने गुरागाईंले बताए ।
गाउँपालिकाले ९ करोड १८ लाखको लागतमा गाउँपालिका भवन पनि निर्माण गरिरहेको छ ।