
सुनसरीको देवानगञ्ज गाउँपालिकाको नयाँ भवन कोरोना भाइरस महमारीका कारण प्रभावित बनेको छ ।
गत वर्षको फागुनबाट निर्माण कार्य सुरु भए पनि कोरोना संक्रमणको जोखिमका कारण चार महिना काम स्थगित गर्नुपरेको छ । चार महिना निर्माण कार्य स्थगित हुँदा हालसम्म १० प्रतिशत मात्र काम सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुडामणि गुरागाईं बताउँछन् ।
देवानगञ्ज वडा नं २ मा ९ करोठ १८ लाख लागतमा बन्दै गरेको सो भवनको हाल बीम कस्ने काम भइरहेको बताउँदै उनले कोरोना महामारीले गर्दा निर्धारित समयसम्म काम नसकिने बताए ।
नौ कठ्ठा क्षेत्रफलमा बन्दै गरेको सो भवनको कार्य अहिले धमाधम भइरहेको छ । मन्त्रिपरिषद्को निर्णयबाट नेपाल सरकारको स्वामित्त्वमा रहेको सो जग्गामा गाउँपालिकालाई भवन बनाउन स्वीकृति दिइएको थियो ।
मन्त्रिपरिषद्मा प्रस्ताव पठाउन ढिला भएका कारण भवन निर्माण कार्यमा पनि ढिलाइ भएको थियो । स्वीकृतिपछि निर्माणका लागि सम्झौता पाएको रबिना एन्ड अभिषा जेभीले अहिले काम धमाधम गरिरहेको छ । तर, बीचमा कोरोना महामारीका कारण काम स्थगन गर्नुपर्दा निर्धारित समयमा भवन बन्न नसकेको ओभरसियर चन्द्रशेखर सिन्हाको गुनासो छ ।
सिन्हाका अनुसार चार महिना कोरोनाकै कारण काम स्थगन गर्नुपरेको थियो भने साउन महिनामा वर्षाका कारण काम हुन पाएको थिएन । गाउँपालिका र रबिना एन्ड अभिषा जेभीबीच ६ करोड ९२ लाखमा गाउँपालिकाको भवन बनाउन सम्झौता भएको हो ।
डेढ वर्षमा निर्माण कार्य सम्पन्न गरी भवन हस्तान्तरण गरिने बताउँदै सो कम्पनीले काम थालेको थियो । तर, महामारी र वर्षाका कारण काममा प्रभाव परेपछि अझै एक वर्ष लाग्नसक्ने ओभरसियर सिन्हाको भनाइ छ ।
हाल गाउँपालिकाको नयाँ भवनको निर्माणकार्य द्रुत गतिमा चलिरहेको गाउँपालिका प्रमुख लालीप्रसाद मेहता बताउँछन् । भवन गुणस्तरीय बनोस् भन्ने उद्देश्यका साथ आफू नियमित अनुगमनमा रहेको गाउँपालिका प्रमुख मेहताको भनाइ छ । पालिकाबासीलाई सुविधा होस् भनी नयाँ भवन निर्माण गरेको उनले बताए ।
हाल गाउँपालिका भाडाको भवनमा छ । वडा नम्बर २ मै रहेको सो भवनको भाडा मासिक रूपमा ६५ हजार तिर्नुपर्छ । एक बोर्डिङ स्कुललाई गाउँपालिकाको भवनको रुपमा प्रयोग गर्दा असहज भइरहेको मेहता बताउँछन् ।
यसैले चाँडै पुरानो भवनबाट नयाँ भवनमा सर्ने आफूहरूको योजना रहेको प्रमुख मेहताले बताए ।
निर्वाचित भएपछि आफ्नो कार्यकालमै गाउँपालिकाको भवन बनाउने सपना रहेको सुनाउँदै प्रमुख मेहताले भने, ‘निर्वाचित भएसँगै मेरै कार्यकालमा गाउँपालिकाको भवन बनाउने सपना मेरो थियो । यो सपना पूरा हुँदै गरेको देख्दा खुशी छु’, उनले भने, ‘विद्यायलका लागि बनेको संरचना भएका कारण हामीले यहाँ दुःख–सुख गरेर काम गरिरहेका थियौं । तर, अब एक वर्ष वा डेढ वर्षभित्रै नयाँ भवनमा सर्नेछौं ।’