२०८१ चैत्र ४       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

महोत्तरी, ११ मंसिर । स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच चारबुँदे सहमति भएपछि महोत्तरीको तनाव क्रमशः सामान्य हुँदैछ । बर्दिबासमा छ वर्षीया बालिकाको अपहरणपछि हत्या र सोविरुद्धको प्रदर्शनमा प्रहरीको गोली लागी घाइते भएका एकको मृत्यु घटनाले थप आन्दोलित भएको महोत्तरीमा सम्बद्ध पक्षबीच चारबुँदे सहमति भएपछि अवस्था क्रमशः सामान्य बन्दै गएको हो ।

बुधबार साँझ बर्दिबासमा नागरिकस्तरमा गठित वार्ता समिति र प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालबीच पीडितलाई क्षतिपूर्ति दिने, दुवै घटनाको छानविन गरी दोषीलाई कारवाही गर्ने, प्रहरीको गोली लागेर मृत्यु भएका सञ्जयलाई शहीद घोषणा गर्ने र प्रदर्शनमा घाइते भएकालाई उचित उपचार खर्चको व्यवस्था गर्ने विषयमा गृहमन्त्रालयलाई आग्रह गर्ने सहमति भएको हो । यो चारबुँदे सहमतिको नागरिकस्तरमा गठित वार्ता समितिका संयोजक चिरञ्जीवी हमाल र जिल्लाका प्रमुख जिल्ला अधिकारी कटुवालले पुष्टि गरे ।

दुवै पक्षबीच प्रदर्शनका कार्यक्रम रोक्ने र भएका सहमतिको कार्यान्वयनका लागि गृहमन्त्रालयमा पहलकदमी बढाउने टुङ्गो भएको छ । यद्यपि जिल्लाका अन्य भेगमा प्रदर्शन रोकिए पनि बर्दिबास नगरका छिटफुट ठाउँमा अझै टायर बाल्ने र सवारी साधन रोक्ने काम भइरहेको यात्रुले गुनासो गरेका छन् । सहमतिपछि सडक अवरोध गर्नेसँग समितिको सम्बद्धता नरहेको संयोजक हमालले स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!