
ताप्लेजुङ, १२ मंसिर । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिको घुन्सासहितका हिमाली क्षेत्रमा आलु उत्पादन न्यून हुँदै गएको छ । केही वर्षयतादेखि उत्पादन घट्दै गएकोमा यस वर्ष उत्पादन शून्यजस्तै बनेको छ ।
आलु उत्पादन हुने घुन्सा, फले, ग्याब्ला, आम्जिलेसा लगायतका क्षेत्रमा उत्पादन नहुँदा आउने मौसमका लागि अन्यत्रैबाट बीउ खोजेर ल्याउनुपर्ने अवस्था आएको स्थानीयबासीले बताएका छन् ।
सधैँ खम्बाचेन, घुन्सामा उत्पादित आलु फलेमा लगेर भण्डारण गर्ने गरिएको र त्यहाँसम्म तल्लो भेगका मानिस कोदो, मकैजस्ता अन्न लिएर गइ आलु लिएर फर्किने गरेको तर यस वर्ष बीउ राख्न पनि आलु नफलेको घुन्साका हिमाली चुङदाकले बताए ।
उनले आलु उत्पादन हुने अधिकांश क्षेत्र हाल खर्कमा परिणत हुन थालेकाले हिमाली क्षेत्रका बासिन्दालाई समस्या हुने अवस्था आएको बताए ।
करिब तीन हजार ४०० मिटरको उचाइमा पर्ने घुन्सामा एक सिजनमा मात्र १०० मुरीभन्दा बढी आलु उत्पादन हुन्थ्यो । आसपासका बस्तीमा उत्तिकै रुपमा उत्पादन हुन्थ्यो तर क्रमशः घट्दै गएपछि कतै जमिन बाँझो छन् भने कतै बस्तु चराउने खर्क बन्दै गएको सथानीय किसानहरुले बताएका छन् ।