२०८१ माघ २७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

तनहुँ, मङ्सिर १३ गते । तनहुँको व्यास नगरपालिका–१० दुम्सी, शिसुवामा रहेको गौमाता संरक्षण केन्द्रमा गएर जन्मदिन मनाउनेहरु बढ्न थालेका छन् । जन्मदिनमा हुने फजुल खर्च कटाएर गाईलाई दाना खुवाउँदै जन्मदिन मनाउने बढेसँगै गाईको पालनपोषणमा मद्दत पुगेको छ । पहिला महिनामा एक जना आउने गरेकोमा हाल दुईदेखि तीन जना आउन थालेको केन्द्रले जनाएको छ ।
शनिबार एलायन्स क्लब अफ तनहुँकी अध्यक्ष जमुना जोशी आफ्नो जन्म दिन मनाउन विहानै केन्द्रमा पुगिन् । गाईलाई पूजा गर्नु भयो र दाना खुवाइन् । सामाजिक कामप्रति इच्छा भएको र गाई भगवानको रुप भएकोले जन्मदिन मनाउन संरक्षण केन्द्रमा आएको जानकारी जमुनाले दिइन् । क्लबका टोलीसहित ४ बोरा दाना र एक बोरा नुन बोकेर पुगेकी जोशी गाईसँग जन्मदिन मनाउन पाउँदा आनन्दित भएकी थिइन् ।

‘समाजमा सकारात्मक सन्देश पनि जाने भएकोले गाईको साथमा जन्मदिन मनाउन पाउँदा निकै खुसी लागेको छ’ जमुनाले भनिन् । जमुना जस्तै जन्मदिन मनाउन केन्द्रमा केन्द्रमा पुग्नेहरु बढी छन् । फजुल खर्च गर्नुभन्दा गाईलाई दाना खुवाउन उचित लागेर आफ्नो छोराको जन्मदिन केन्द्रमा गएर मनाएको लोक तथा दोहोरी गायक रमाकान्त ढुङ्गानाले बताए ।

केही दिन पहिला जन्मदिन मनाएका गायक ढुङ्गानाले छोरा खुसी भएकाले आगामी वर्ष पनि त्यसरी मनाउने सोचाई रहेको जानकारी दिए । ‘धर्म, सस्कृति प्रति रुचि बढ्नुका साथै समाजिक भावाना विकास गर्न मद्धत पुर्याउन गौमातालाई दाना, घाँस खुवाएर मनाएको हुँ ’ गायक ढुङ्गानाले भने ।

धेरै गाई भएकोले पाल्नको लागि कठिन भइरहेको र जन्मदिन मनाउन आउनेहरुले दाना खुवाउने गरेकोले केही राहत मिलेको गौमाता केन्द्रका अध्यक्ष प्रजापति सापकोटाले जानकारी दिए ।

यो वर्ष जन्मदिन मनाउनेहरुबाट ४५ बोरा दाना र पाँच बोरा नुन प्राप्त भएको उनले बताए । सापकोटका अनुसार हाल सुख्यायाम भएकोले घाँसको अभावले पाल्न कठिन भएको छ । ‘खर्च अभावले जति गाईको सम्भार गर्नु पर्ने हो त्यही गर्न सकिएको छैन’ सापकोटाले भने ।

गतवर्ष व्यास नगरपालिकाले पराल खरिद गर्नको लागि दुई लाख रुपियाँ दिएको र यस वर्ष एक लाख रुपियाँ प्राप्त भईसकेको जानकारी उनले दिए  ।  ‘राम्रोसँग खुवाउने हो भने दैनिक २० भारी पराल चाहिन्छ दाना र घाँससमेत गरेर वार्षिक रुपमा २० लाख खर्च हुन्छ ’अध्यक्ष सापकोटाले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!