२०८१ माघ २७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

झापा, १४ मंसिर । झापाको मेचिनगर नगरपालिकामा तेजपत्ताबाट तेल निकाल्ने प्रशोधन कारखाना खुलेको छ ।

प्रदेश नं १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सहयोगमा मेचिनगर–६ मा तेजपत्ताबाट तेल निकाल्ने प्रशोधन कारखाना खुलेको हो । मंसिर ९ गतेबाट सञ्चालनमा आए पनि निर्माण कार्य भने जारी रहेको छ ।

तेजपत्ता तथा औषधिजन्य वनस्पती प्रशोधन कारखानामा मेसिन जडान गरी परीक्षण सुरु भएको मन्त्रालयका प्रवक्ता डा. राजेन्द्र उप्रेतीले जानकारी दिए ।

महेन्द्रद्वार सहकारी संस्था लिमिटेडले बनाउँदै गरेको सो प्रशोधन कारखाना हाल पनि निर्माणाधीन अवस्थामा छ ।

सहकारीका अध्यक्ष राजकुमार दाहालले प्रदेश १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रायलको ७५ प्रतिशत र सहकारीको २५ प्रतिशत लागतमा प्रशोधन कारखाना बनिरहेको जानकारी दिए ।

उनका अनुसार गत वर्षको फागुनदेखि निर्माण थालिएको भए पनि बीचमा कोरोना महामारीको कारण निर्माण कार्य स्थगन भएको थियो ।

हाल पनि प्रशोधन कारखानाको निर्माण कार्य जारी रहेको बताउँदै दाहालले भने, ‘नयाँ केही गरौं भनेर कारखाना खोलेका हौं । लागत यति नै भयो भन्ने अवस्था छैन । कोरोनाले प्रभाव पारेका कारण समयमै निर्माण काम सकिएन । नयाँ भएका कारण र पर्याप्त ज्ञान नभएकोले सोचेअनुरुप भएको छैन । तथापि, हामी आशावादी छौं’

त्यहाँ कार्यरत प्राधिकिका अनुसार एक सय केजी पत्ताबाट न्यूनतम एक लिटर तेल निकाल्न सकिन्छ । हाल सो प्रशोधन कारखानामा चार कामदार खटाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!