
विराटनगर, १८ मंसिर । निषेधाज्ञा तोडेका आरोपमा बुधबार अपराह्न पक्राउ परेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रहरीको डण्डाबाट पेलिएर करङ दुखेको बताएका छन् ।
बिहीबार सामाजिक सञ्जालमार्फत् पौडेलले प्रहरीको डण्डाबाट पेलिएका आफ्ना करङ आज बढी दुखेको बताए ।
हिजो तनहुँको व्यास नगरपालिका–१ र १० जोड्ने बुल्दीखोलामा निर्माण भएको पक्की पुल उद्घाटन गर्न जाने क्रममा निषेधाज्ञा तोडेका आरोपमा अपराह्न २ बजे सुरक्षाका लागि प्रहरी कार्यालयमा राखिएका वरिष्ठ नेता पौडेल साढे ५ बजे मुक्त भएका थिए ।
‘पुलिसको डण्डाबाट पेलिएका मेरा करङ दिउँसोभन्दा साँझ दुखेर आयो, हिजोभन्दा आज दुखाइ बढी छ । सात दशकको अथक प्रयासबाट प्राप्त गणतन्त्रमा पनि पुलिस पेलानबाट छुटकारा मिल्न सकेको छैन,’ उनले लेखेका छन्, ‘असली लोकतन्त्र कहिले साकार हुने हो ? मेरो चिन्ता यसैमा छ ।’
त्यसअघि उनले तनहुँमा भएको घटनाप्रति देशभर निन्दा भइरहेको बताउँदै सो घटनाको जति विरोध गरे पनि कम हुने बताएका थिए ।
प्रहरी शक्तिको दुरुपयोग गरी कांग्रेसलाई निषेध गर्न खोजिएको भनी उनले आपत्ति जनाएका थिए ।
https://www.facebook.com/RCPaudelNepal/posts/3839155576115845