
उपप्रमुख भन्छिन् – जलाउने प्रयास भएपछि गाडी हुइँक्याउन लगाएँ
झापा, १८ मंसिर । मेचीनगर नगरपालिकाका उपप्रमुख मीना उप्रेती सवार गाडी जलाउने प्रयास भएको छ । अज्ञात समूहले बिहीबार उपप्रमुख सवार मे १ झ १७२ नंं गाडी जलाउने प्रयास गरेको हो ।
नेपाल आयल निगम चारआली डिपोको कार्यक्रममा सहभागी भएर नगरपालिका कार्यालयतर्फ फर्किरहेका बेला आज अपराह्न ३ बजेतिर पूर्वपश्चिम राजमार्गको धाइजन खण्डमा बाटो छेकेर आफू सवार गाडीमा आगो लगाउने प्रयास भएको उपप्रमुख उप्रेतीले बताइन् ।
गाडी जलाउन खोज्ने दुई युवाले आफूहरु नेपाल विद्यार्थी सङ्घका कार्यकर्ता भएको बताएको जनाउँदै उपप्रमुखले बाटो छेकेर गाडीको चक्कामा पेट्रोल छर्किएको आरोप लगाइन् ।
‘पेट्रोल छर्किएको चक्कामा सलाई निकालेर आगो लगाउन लागेपछि मैले ड्राइभरलाई जसरी भए पनि छिटो गाडी हुइँक्याउन लगाएँ’’, उनले भनिन् ।
घटनाबारे इलाका प्रहरी कार्यालय काँकडभिट्टामा तत्कालै जानकारी गराइएको उनले बताइन् । नेपाली काँग्रेसका उपसभापति राम कट्टेलले घटना भर्त्सनायोग्य भए पनि कसले गरेको हो भनी आफूहरुले बुझ्ने प्रयास गरिरहेको जानकारी दिए ।