
स्याङ्जा, १९ मंसिर । स्याङ्जाको गल्याङ–९ पकवादी गेझाका कुसुम भण्डारी सांगीतिक क्षेत्रमा सुनेकै नाम हो । साङ्गीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका भण्डारीले खुमन अधिकारी र विष्णु माझीले गाएको निकै चर्चित लोक गीत कपाल कोर्ने काइँयोलगायतका धेरै गीतहरूमा शब्द भरेका छन् । त्यसबाहेक भण्डारीका आफ्नै स्वर तथा अभिनय रहेका गीतहरू प्रशस्तै छन् ।
७ वर्षसम्म काठमाडौँमै बसेर साङ्गीतिक क्षेत्रमा भुल्नुभएका भण्डारी अहिले भने आफ्नै गाउँलाई कृषिका माध्यमबाट माथि उकास्ने प्रयासमा हुनुहुन्छ । भण्डारीको ३ रोपनी बारी अहिले केरा घारीमा परिणत भएको छ । उनको घर नजिकै रहेको ३ रोपनी बारीमा ढाई सय बोट केरा र कागतीका बिरुवाहरू छन् ।
केराबाट आर्थिक लाभ लिइरहनुभएका भण्डारीको बारीका कान्लाहरूमा र्हुकँदै गरेका कागतीका बोटहरू देखिन्छन् । विगत दुई वर्षदेखि भण्डारीले केरा खेती गर्दै आएका हुन् । केरालाई सिँचाई चाहिने भए पनि उनले भने त्यो व्यवस्था गरेका छैनन् । उत्तरतिर फर्केको जग्गामा उपयुक्त हुनुभएपछि उनले रिपियान पाखामा केरा लगाएका छन् ।
संसारमा रहेका ६४ कृषि मध्ये कृषि कला पहिलो हो भन्ने ज्ञान सङ्गीत सिक्ने क्रममा आफ्ना गुरुले भनेका कुराले उहाँलाई कृषिमा लाग्न अभिप्रेरित गरेको थियो । कृषिमा पनि नगदे बालीमा छिटो आम्दानी लिन सकिने भएकाले फलफूलप्रति आफ्नो आकर्षण बढेको उनले बताए ।
अब केराखेतिलाई नै व्यावसायिक बनाउने उनको सोच छ । केरा खेतीलाई विस्तार गर्दै ५ रोपनीमा पुर्याउने र ५ सय केराका बोटहरू हुने उनको भनाई छ । प्रति बोट हजार रुपैयाँका दरले उनले वार्षिक डेढ लाख कमाई गरेको बताए । कृषि बिनाको सङ्गीत अधुरो हुने भन्दै उनले कृषिसँगै सङ्गीतलाई समेत अगाडि बढाएका छन् ।
गत कार्तिकमा उनले दसैँ गीत समेत सार्वजनिक गरेका थिए । गीतले युट्युबमा राम्रै दर्शक समेत पाएको छ । गेझामै सुटिङ गरिएको गीतमा धार्मिक मौलिकता देखाउन खोजिएको छ । उनले कलाकार कृषि तथा पशुपन्छी फर्म नै दर्ता गरेर आफ्नो कृषि पेशालाई अगाडि बढाएका हुन् ।
गेझामा केराखेतिको राम्रो सम्भावना रहेकाले केराखेतिले नै गेझाबासीलाई माथि उकास्ने उनको अनुभव छ । जिल्लामै रेकडिङ स्टुडियो भएमा स्याङ्जाली कलाकारलाई आफ्नै गाउँ ठाउँमा बसेर सङ्गीतलाई अगाडि बढाउन सकिने भण्डारीले बताए ।
सङ्गीतसँगै उनले कृषिलाई नै आफ्नो उद्देश्य बनाएका छन् । केरासँगै उनले साथीभाइसँग सहकार्य गर्दै गाउँमै गाई फर्म स्थापनाका लागि अगाडि बढेका छन् ।
सामूहिक रुपमा ३० लाख लगानी गरेर गाई फाम बनाउने उद्देश्यका साथ गाईका लागि गोठ समेत निर्माण भइसकेको उनले बताए । आफ्नै जन्मथलोलाई कर्मथलोका रुपमा विकास गर्न सकियो भने समग्र गाउँ ठाउँकै लागि प्रेरणा बन्ने देखिन्छ । युवाहरूलाई कृषिमै आकर्षित गर्न सम्बन्धित निकायले समेत चासो दिनुपर्नेछ ।