
बुटवल, २१ मंसिर । प्रहरीले बुटवलमा भएको गोली काण्डमा संलग्न रहेको आशंकामा दुई जनालाई पक्राउ गरेको छ । आइतबार बिहान होटलमा बसेर खाग तस्करीको योजना बनाइरहेकामध्ये एक जना आफ्नै साथीले प्रहार गरेको गोली लागेर घाइते भएको अर्का एक जना फरार रहेको बुटवल प्रहरीले जनाएको छ ।
बिहान नौ बजे बुटवल उपमहानगरपालिका-८ मिलनचोकदेखि पुर्वतर्फ सुख्खानगर जाने बाटोमा रहेको कलस होटलमा गोली चलेको थियो । तस्करीको सूचना पाएर खानतलासी गर्न पुगेको प्रहरी टोलीको पेस्तोल खोसेर तस्करले प्रहरीमाथि नै प्रहार गर्न खोजेका थिए । तर गोली उनकै साथीलाई लागेकाे ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले जानकारी दिए ।
गोली प्रहारबाट काठमाडौं महानगरपालिका वसन्तपुरका राकेश न्यौपाने गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक खड्गबहादुर खत्रीले बताए । उनको चिउँडोमा गोली लागेको छ । उनलाई लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुन नसकेपछि भैरहवा मेडिकल कलेज लगिएको छ ।
प्रहरीका अनुसार खाग तस्कर बसेको प्रारम्भिक सूचनाका आधारमा २ जना प्रहरी सिभिल पोशाकमा होटलमा पुगेका थिए । होटलमा सोधपुछपछि ४ जना बसेको कोठामा बाहिरबाट चुकुल लगाएको थियो । त्यसपछि ढोका फोरेर प्रहरीको पेस्तोल खोसेर प्रहरीलाई प्रहार गर्न खोज्दा न्यौपानेको चिउडोमा गोली लागेको थियो ।
गोली हान्ने जाजरकोटको नायकवडा गाउपालिका ४ का वीरेन्द्रबहादुर सिंह फरार भएका छन् । अन्य २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जाजरकोटको बारीकोट गाउपालिका ४ का कर्णबहादुर राउत र सुर्खेतको लेकबेंसी नगरपालिकाका भक्तबहादर थापालाई पक्राउ गरेको प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक खत्रीले बताए । घटनास्थलबाट प्रहरीले खागलगायतका सामग्रीहरु बरामद गरेको छ ।