
काठमाडौं, २४ मंसिर । कोरोना भाइरसबाट सङ्क्रमित कर्मचारीले कोरोना बिदा पाउने भएका छन् । मंसिर १० गतेकाे मन्त्रिपरिषद बैठकले कोरोना सङ्क्रमित कर्मचारीलाइ कोरोना बिदा दिने निर्णय गरेको थियो । सो निर्णय कार्यान्वयनको लागि मातहतका सबै निकायमा परिपत्र पठाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता शंकर नेपालले जानकारी दिए ।
उनका अनुसार कोरोना पोजेटिभ देखिए पनि सामान्य अवस्थामा रहेको कर्मचारीलाई १४ दिनको बिदा, हस्पिटलमा बस्नुपर्ने अवस्थाको कर्मचारीले हस्पिटलमा उपचार गरेको समयावधिसम्म बिदा पाउनेछन् ।
साथै, निजी संघ संस्थाका हकमा समेत सोही अनुसारको व्यवस्था गर्न/गराउन पनि परिपत्रमा उल्लेख गरिएको छ । यो निर्णयसँगै यसअघि कोरोना संक्रमणका कारण कार्यालयमा आउन नसक्नेका कर्मचारीलाई पनि सोही अवधिको कोरोना बिदा पाउने भएका छन् ।
कोरोनाको कारण कार्यालयमा उपस्थित हुन नसकेका सरकारी तथा अर्धसरकारी निकाय सबैले उक्त बिदा पाउन सक्नेछन् । बिदाको लागि सम्बन्धित कार्यालय प्रमुखले क्वारेन्टिन वा आइसोलेशनमा बसेको वा अस्पतालमा भर्ना भएको व्यहोरासहितको प्रमाणहरु अनिवार्य छ ।
सार्वजनिक निकायमा कार्यरत पदाधिकारी वा कर्मचारी कोरोनाबाट संक्रमित भएमा वा कन्टयाक्ट ट्रेसिङ्गमा परेमा त्यस्ता पदाधिकारी वा कर्मचारीबाहेक अन्य कर्मचारी-पदाधिकारीबाट सार्वजनिक सेवालाई निरन्तरता दिने व्यवस्था मिलाउन समेत परिपत्रमा भनिएको छ । यसको नियमित अनुगमन सम्बन्धित मन्त्रालय र प्रदेश संकट व्यवस्थापन केन्द्र, जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले गर्नेछन् ।