
मोरङ, २६ मंसिर । जर्बजस्तीकरणी गर्ने र उक्त घटनालाई मिलापत्र गराउने थप छ जना व्यक्तिहरुलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार जर्बजस्ती करणीको घटना गत भदौ २४ गते साँझ भएको उक्त घटनामा पीडित पक्षलाई ५ लाख रुपैँया दिएर गाउँघरमा नै मिलापत्र गराएको अनुसन्धानबाट खुलेको छ ।
मिलापत्रको कागज पनि प्रहरीले फेला पारेपछि मिलापत्रमा संलग्न ६ जनालाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरका प्रवक्ता एवं डिएसपी मानबहादुर राईले जानकारी दिए ।
प्रहरीका अनुसार मोरङ धनपालथान गाउँपालिका वडा नं ५ मा सुरेश खवासको धान खेतमा मल छर्ने क्रममा सुनबर्षी ५ की २१ बर्षीय युवतीलाई जर्बजस्ती करणी गरेका थिए । उक्त घटनाबारे पीडित युवतीले असोज २५ गते इलाका प्रहरी कार्यालय रंगेलीमा जाहेरी दिएकी थिइन् ।
खवास पक्राउ परेपछि अनुसन्धानको क्रममा उक्त घटनालाई गाउँघरमा नै ५ लाख रुपैया दिएर मिलापत्र गराएको पनि खुलेको छ । प्रहरीले मिलापत्र कागज समेत वरामद गरेको मिलापत्र गराउनेहरु संलग्न ६ जना धनपालथान ५ का ६५ बर्षीय धनेशु खवास, ५३ बर्षीय सुधार सिंह खवास, ६२ बर्षीय मागन खवास, ६२ बर्षीय कलकनु खवास र बेलबारी नगरपालिका ८ का ५३ बर्षीय मथालु खवासलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
उनीहरु सबैलाइ बिहीबार उनीहरुकै घरबाट पक्राउ गरिएको अनुसन्धान भइरहेको मोरङ प्रहरीले जानकारी दिएको छ ।