
काठमाडौं, २८ मंसिर । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार नागरिकको जीवन र जीविका रक्षा दुवैलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् । कोरोना भाइरस सङ्क्रमणबाट नागरिक जोगाउन स्वास्थ्य सेवा पुर्याउने र नागरिक जीविकाको आधार रोजगारी तथा उद्यम व्यवसाय पुनर्स्थापनामा सरकार दत्तचित्त भएर लागेको उनले बताए ।
मन्त्री पौडेलले सबै नागरिकलाई प्राथमिकताका आधारमा कोभिडविरुद्धको खोपको व्यवस्था गरिने जानकारी दिए । “१४ वर्ष नाघेका सबै नागरिकलाई प्राथमिकताका आधारमा खोप पुर्याउने गरी सरकारले ध्यान केन्द्रित गरेको छ । गुणस्तरीय, सहज र सस्तो खोप खरिद, पर्याप्त स्रोत व्यवस्थापन गर्न सबै संयन्त्र परिचालन गर्नेछौंँ,” उनले भने ।
कोरोना महामारीका कारण अर्थतन्त्र प्रभावित भएको तर सुधारका सङ्केत देखिन थालिसकेको उनको भनाइ छ । महामारी र बन्दाबन्दी प्रभावित उद्यम व्यवसाय पुनरुत्थान र नयाँ सिर्जना गर्न सरकारले विभिन्न राहत तथा सहुलियतका कार्यक्रम ल्याएको भन्दै उनले त्यसको सदुपयोग गर्न र लाभ लिन निजी क्षेत्रलाई आग्रह गरे ।
मन्त्री पौडेलले नयाँ सहुलियत तथा राहतमुखी योजना ल्याइने जानकारी दिए । उनले सरकार निजी क्षेत्रलाई साथ लिएरै अगाडि बढ्ने हो, निजी क्षेत्रका आवश्यकता तथा रचनात्मक र अत्यावश्यक सुझाव सरकारले कार्यान्वयन गर्नेछ भने ।