
तनहुँ, २८ मंसिर । सुन्तला खेतीको लागि राम्रो सम्भावना बोकेको जिल्लामध्ये तनहुँ पनि एक हो । तर, पछिल्लो समय यहाँका अधिकांश क्षेत्रका सुन्तलाका बोट मर्दै जान थालेका छन् । जिल्लाको आधा दर्जनभन्दा बढी पालिकामा लगाइएको सुन्तला खेतीको उत्पादनमा क्रमिकरूपमा ह्रास आउन थालेपछि यहाँका कृषक यतिबेला वैकल्पिक बालीको खोजीमा छन् ।
सुन्तला खेतीका लागि पर्याप्त मात्रामा पानीको स्रोत नहुनु, भएका पानीको स्रोत पनि सुक्दै जानु, विभिन्न किसिमका रोगले आक्रमण गर्नु, आवश्यकरूपमा खाद्यतत्व नपुग्नु र उचित किसिमले बगैँचा व्यवस्थापन नहुनुजस्ता कारणले सुन्तलाका बोट मर्दै गएको जिल्ला कृषि ज्ञान केन्द्र तनहुँका कृषि प्रसार अधिकृत एवं सूचना अधिकारी मोहनप्रसाद श्रेष्ठले जानकारी दिए ।
सुन्तला बगैँचा व्यवस्थापन राम्रो हुन नसक्दा क्रमिकरूपमा सुन्तला उत्पादनमा ह्रास आएर अन्ततः बोट नै मर्दै गएको उनले बताए । सुन्तला बगैँचाका बोट मर्दै जान थालेपछि वैकल्पिक बालीको खोजीमा छन् । उनले वैकल्पिक बालीका रूपमा किबी, कागती लगाउने कि फेरि सुन्तला नै लगाउने भन्ने कुरामा कृषक अन्योलमा परेकाे बताए ।
जिल्ला कृषि ज्ञान केन्द्रले नयाँ सम्भावित क्षेत्रमा सुन्तला खेती विस्तार कार्य पनि गर्दै आएको जनाएको छ । जिल्लाको म्याग्दे गाउँपालिकाको उमाचोक र घिरिङ गाउँपालिकाको उवाचोक च्यासुलमा गत वर्ष १० हजार बिरुवा लगाइएको जिल्ला कृषि ज्ञान केन्द्रका वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले बताए ।
“पुराना सुन्तला बगैंचा व्यवस्थापनको कमीले सुन्तलाका बोट मर्दै गएका छन्”, उनले भने, “जुन क्षेत्रमा सुन्तला मर्दै गएका छन्, त्यस क्षेत्रका कृषक बढी चिन्तित छन् ।”
जिल्लाको शुक्लागण्डकी–११ राइपुर, व्यास नगरपालिका–११ र १३ को तनहुँसुर र बेनीकोट, देवघाट गाउँपालिकाको वडा नं २, ३ र ४ छिपछिपे बैदी, कोटबैदी, भिमाद नगरपालिका–९ को भानुमतिलगायतका क्षेत्र सुन्तला खेतीको लागि पकेट क्षेत्र हुन् । जिल्लामा एक हजार ५०० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएकाले यस वर्ष करिब आठ हजार मेट्रिक टन सुन्तला उत्पादन हुने अनुमान कार्यालयको रहेको छ ।
गत वर्ष तनहुँमा रु २३ करोड मूल्य बराबरको सुन्तला उत्पादन भएको थियो तर अहिले सुन्तलाको दानासमेत साना रहेकाले उत्पादन वृद्धि हुने सङ्केत कम देखिएको छ । गत वर्षको तुलनामा यस वर्ष अत्यधिक वर्षा भएकाले सुन्तला पाक्न ढिलाइ भएको छ ।
कृषि अनुसन्धान परिषद्, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेश, कृषि ज्ञान केन्द्र र स्थानीय सरकरका कृषि शाखालगायतका सम्बन्धित निकायले हरेक सुन्तला बगैँचा गएर कृषकलाई जनजागरण गर्ने, नयाँ प्रविधि तथा तालिम प्रदान गर्नुपर्नेलगायतका आवश्यकता देखिएको छ । सुन्तला खेतीमा देखिएको समस्याको पहिचान गरी निराकरणका लागि प्राविधिक तथा आर्थिक सहयोगको आवश्यकता पर्ने देखिएकाले बेलैमा सम्बन्धित निकायको यसतर्फ ध्यान पुग्न जरुरी छ ।