२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

इलाम, ३० मंसिर । किसानका लागि आम्दानीको भरपर्दो स्रोत बन्न थालेको अकबरे खुर्सानीको माग अहिले बजारमा उच्च छ । मौसम चिसो भएसँगै अकबरेको माग बढ्नु स्वाभाविक हो तर यो वर्ष किसानले लगाएको अकबरे खेती रोगले सखाप भएपछि उत्पादन कमी भएका कारण पनि माग उच्च भएको किसानको बुझाइ छ । यो वर्ष किसानको घरघरबाटै यो सिजनमा प्रतिकिलो ४८० रुपियाँदेखि पाँच सय रुपियाँ दरले अकबरे बिक्री भइरहेको छ ।

सूर्योदय नगरपालिका–१२, आठघरेका किसान मदन राईले त यो वर्ष प्रतिकिलो छ सय रुपियाँका दरले पनि अकबरे बिक्री गरेका छन् । सात वर्षयता अकबरेको व्यावसायिक खेती गरिरहेका राईले उत्पादन गरेको अकबरेको माग त स्थानीय बजारदेखि विदेशमा समेत रहेको बताए ।

राईले यो वर्ष दुई सय किलो अकबरे हङकङ पठाएको जानकारी दिए । भारत, अमेरिका, साउदी, कतार, मलेसिया र हङकङमा बसोबास गर्ने नेपालीले इलामको अकबरे माग गर्ने गरेका छन् ।
ती देशबाट आएको मागअनुसार अकबरे पठाउनै नसकेकाे राईले बताए । उनका अनुसार पूर्ण अर्गानिक अकबरे उत्पादन गर्ने भएकाले पनि माग उच्च रहेको छ । १० हजार बोट अकबरे लगाएका राईले मङ्सिर बित्न लाग्दा पनि अझै अकबरे टिप्दै छन् ।

तीन सय किलो अकबरे बिक्री गरिसकेका राईले विभिन्न मसला उद्योग र चाउचाउ उद्योगको माग धान्न पनि नसकिने बताए  । राईसँग दाना अर्थात् अकबरेको बीउको माग पनि उत्तिकै छ । गत वर्ष प्रतिकिलो २५ हजार रुपियाँका दरले सात किलो दाना बियाँ गरेका राईले यो वर्ष पनि बीउको तयारी गरिरहेको बताए ।

धेरै किसानको खुर्सानी बगान नै सखाप हुँदा पनि रोग देखा नपरेकाले उत्पादन राम्रो भएको राईले बताए । अकबरे रोप्न राईको प्रविधि अलि फरक छ । प्लास्टिक टनेलभित्र अकबरे खेती गरेका राईले हुस्सुबाट जोगाउन सक्दा उत्पादन राम्रो हुने बताए ।

राईले आफ्नो खेतीमा विशेष गरी गाईको गोबरमल, गहुँत, निमको पिना, हड्डीको धुलो, आफैँले उत्पादन गरेको गड्यौले मल प्रयोग गरिरेका छन् । दहीबाट घिउ निकालेर बनाइएको मोहीलाई पनि निश्चित पद्धतिमा ढालेर रोगबाट बालीनाली बचाउन प्रयोग गर्ने गरेको राई बताउँछन् ।

जिल्लाका पञ्चकन्या, सोयाङ, नामसालिङ, सुम्बेक, सुलुबुङ, माईमझुवा, गोदक, कन्याम, लक्ष्मीपुरलगायत गाउँका किसानले अकबरेको व्यावसायिक खेती गर्दै आएका छन् । जिल्लाको १५५ हेक्टर क्षेत्रफल जमिनमा अकबरे खेती हुँदै आएको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!