
तनहुँ, ३ पुस । जागिरे जीवन छि पेन्सनको समयमा धेरैजसोले समय खेर फालिरहेका हुन्छन् तर तनहुँका एक व्यात्तिले खेर गएको टायरमाथि पैसा फलाउने सपना बोकेर काम गरिरहेका छन् । व्यास नगरपालिका–११ धरमपानीका ५४ वर्षीय हिमलाल श्रेष्ठले १५ महिना अघिदेखि ड्रागन खेतीमा पसिना बगाउन थालेका हुन् ।
भारतीय सेनाका पूर्व सैनिक श्रेष्ठले सोही ठाउँका देवेन्द्र क्षत्रीसँग मिलेर बाँझो रहेको जमिनमा ड्रागन खेती गरेका छन् । आठ लाख ८५ हजार रुपियाँ लगानी गरेर खेती गरेको श्रेष्ठले बताए ।
माटोमा पसिना बगाउँदा शरीर निरोगी हुने आम्दानी पपनि हुने दोहोरो फाईदा देखेर खेती शुरु गरेको उनले जानकारी दिए । युटुबमा ड्रागन खेतीको बारेमा ज्ञान लिएको र पानी कम भएको ठाउँमा पनि ड्रागन खेती गर्न सकिने भएकोले लगानी गरेको श्रेष्ठ बताउँछन् ।
‘सुन्तला बगैचा थियो रोगले सबै रुख मरेपछि जमिन पाँच वर्ष अघिदेखि बाँझो भएकोले दुःख पनि कम हुने, बजारमा माग पनि धेरै भएकोले खेती गर्ने सोचाइ आयो’ श्रेष्ठले भने ।
एउटा ड्रागनको बोटले १० वर्ष सम्म फल दिने र बजारमा खेर गएका साना तथा ठुला सवारी साधन टायरको पनि सदुपयोग हुने देखेर खेती शुरु गरेको श्रेष्ठले जानकारी दिए ।
पूर्वमन्त्री लोकेन्द्र विष्टले सञ्चालन गरेकाे फर्म र राजधानीबाट सात रुपियाँको दरले खरीद गरेर एक हजार ६ सय वटा विरुवा लगाएको उनले बताए ।
सिमन्टको पिल्लर बनाएर माथि थोत्रो टायर राखिएको र त्यही टायर माथि फल फल्ने गरी श्रेष्ठले व्यवस्थापन गरेका छन् । ड्रागन फ्रुट मीठो मात्र छैन, औषधीय गुणले पूर्ण मानिन्छ । यो फल खाएपछि पेट खलास हुने र कब्जियतको दोष पनि ठिक हुने भएको बजार माग उच्च रहेको श्रेष्ठ बताउँछन् ।