२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौँ, ४ पुस । ‘काम गर्ने दाहिने हातमा स्टिलको पातो हालेदेखि मैले खेतीकिसानी मात्र होइन गृहस्थ जीवन नै त्यागेँ । अन्य व्यक्ति किन जोगी हुन्छन्, त्यत्ति थाहा भएन तर म चाहिँ खेती गरेर खाने हातका लागि धेरै खर्च र दैनिकी धान्न नसकेर बिरक्तिएँ ।’’

माइतीघरमा धर्ना दिइरहेका उखु खेतीले बिचल्लीमा परेका किसान आन्दोलनमा ऐक्यबद्धता जनाइरहेका सर्लाही, सिसौटिया–११ का रामानन्द यादवको अनुभूति हो यो । उनी ठिही नधान्ने गेरु वस्त्र, मागी खाने भाँडा र लौरोसहित किसानको त्यो आन्दोलनमा हरेक दिन सहभागी छन् ।

संसारप्रतिको मोह त्यागेर घुमी हिँड्ने जोगीको प्रवृत्तिभन्दा फरक यादव किसान आन्दोलनमा देखिएका उनले चिनी मिलका कारण आफू जोगी हुनुपरेको बताए । त्यसपछि उनले उखु खेतीका कारण आफू जोगी हुनुपरेको बताए ।

गत वर्ष माइतीघरमै धेरै दिन चलेको उखु किसानको आन्दोलनमा सहभागी भएर घर फर्किने क्रममा घाइते भए । उखुको ३३ हजार रुपियाँ बक्यौता लिन सर्लाहीदेखि राजधानीको माइतीघरसम्म सास्ती बेहोरेर सरकार र चिनी मिल साहूको आश्वासन लिएर घर जाँदा बाटामै दुर्घनामा परेपछि घरको सट्टा वीर अस्पतालको ट्रमा सेन्टर फर्किए ।

डाक्टरले उनको दाहिने पाखुरामा स्टिलको पाता राखेर उपचार गर्दाको खर्च साढे दुई लाख रुपियाँ लाग्यो । नाजुक आर्थिक अवस्थाका कारण उखुको पैसा पाउन आन्दोलनका लागि घरबाट निस्कन पनि चर्को ब्याजमा ऋण लिनुपर्यो ।

चिनी मिलका साहूले २०७१ सालदेखिकै पैसा नदिएर दुःख दिएको छ । हातको उपचार गर्न घरको सारा सामान बिक्री गर्नुपरेको बताए । ‘‘स्टिल राखेको हातले काम गर्न सक्दिनँ, झिक्नका लागि पैसा छैन । मेरो विवाह पनि भएको छैन । उखु खेतीले मलाई जोगी बनायो’’, यादव भने ।

“साथीहरू आफ्नो आवाज सरकारलाई सुनाउन काठमाडौँको माइतीघर आउने भएपछि मन थाम्न सकिनँ । यसैले म पनि आन्दोलनमा सहभागी भएँ” यादवको भनाइ छ ।
त्यसैगरी कपिलवस्तुका ज्येष्ठ नागरिक पेचु अहिर ओढ्ने पातलो सिरकसहित आन्दोलनमा सहभागी छन् । पुसको चिसोमा सात दिनदेखि नै माइतीघरमा आन्दोलनमा सहभागी हुँदा उनी बिरामी परिसके ।

औषधिसहित सिरक ओढेर दिनभर आन्दोलनमा सहभागी अहिरलाई सँगै आएका साथीभाइले घर फर्कन आग्रह गर्दासमेत मानेका छैनन् । राजधानीको लुगलुग काम्ने चिसोमा उनको स्वास्थ्य अवस्था दिन प्रतिदिन बिग्रँदै गएको उखु किसान अनुपकुमार चौधरी बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!