
लन्डन, ४ पुस । बीबीसी वानबाट प्रसारित मास्टरसेफ: द प्रोफेसनल्स् २०२० को अन्तिम प्रतिस्पर्धामा उपाधि नजिते पनि संयुक्त अधिराज्य (बेलायत) मा बसोबास गर्ने नेपालका सन्तोष साहले निर्णायकसहित सम्पूर्ण नेपालीको मन जित्न सफल भए ।
बेलायतको समयअनुसार बिहीबार राति भएको अन्तिम प्रतिस्पर्धामा साह र नेदरल्यान्डका वार्ट भान डर लीलाई पछि पार्दै बेलायतका २५ वर्षीय एलेक्स वेब मास्टर सेफको विजेता बन्न सफल भए ।
हस्पिटालिटी क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय स्तरको यस प्रतियोगितामा सहभागी ३२ व्यावसायिक सेफमध्ये तीन जनाले अन्तिम प्रतिस्पर्धामा आफ्नो स्थान बनाउन सफल भएका थिए । नेपाली ढाकाटोपीमा देखिएका ३५ वर्षीय साहले अन्तिम प्रतिस्पर्धामा चरेसको थालमा राँगाको मासु, खोले साग, भेडाको गिदीलगायतका परिकार पस्किएका थिए ।
प्रतियोगिताका विभिन्न चरणमा साहले योमरी, क्रिस्पी, चिकेन चिल्ली, सी विडको अचार, भेजिटेबल अचार, खरायोको मासु, कोदोको खीर, आँपको कुल्फी, आँपको अमौरा बनाएर निर्णायकको मन जितेका थिए । सेमिफाइनलको पछिल्लो चरणमा साहले नेपालको हिमाली खानाबाट प्रेरित रोस्टेड काँक्राको बियाँ, प्याजको अचार, स्याउको चट्नीलगायतका परिकार बनाएका थिए ।
यसैगरी विभिन्न चरणमा सिस्नो र आलुको तरकारी, बेथेको साग, भाङको चट्नी मकैको रोटी, तामाको अचार जस्ता नेपालका मौलिक खानाका परिकार पस्किएका थिए ।
साहले लन्डनका चर्चित सेफहरूसँग प्रशिक्षण लिनुका साथै सँगै काम गरेको अनुभव छ । नेपालको सिराहा जिल्लाको कर्जन्हा घर भएका साह सानो उमेरमै कामको खोजीमा भारत गएका थिए ।
भारतको गुजरातमा किचन पोर्टरबाट सुरु भएको उनको सङ्घर्ष भारतको पाँचतारे होटल हुँदै एक दशकअघि लन्डनका चर्चित रेस्टुरेन्टसम्म पुगेको हो । हाल उनी लन्डनको एक रेस्टुरेन्टमा हेड सेफका रूपमा कार्यरत छन् । प्रतियोगितामार्फत नेपालका विभिन्न परिकारलाई अन्तर्राष्ट्रिय स्तरमा परिचत गराउन आफू सफल भएको साहले बताए ।