
काठमाडौं, ६ पुस । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीलेपाटीको काममा निरन्तर अवरोधका कारण पार्टीको भविष्य जोगाउने अरु कुनै बिकल्प नभएपछि भारी मनका साथ आफूले ताजा जनादेश लिने निर्णय लिएकाे बताएका छन् । बिघटित प्रतिनिधिसभाका सदस्यहरुको आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले साे कुरा बताएका हुन् ।
ओलीले मुलुकको उन्नतिका लागि गरेका हरेक काममा अवरोधका कारण पार्टीको भविष्य जोगाउने अरु कुनै बिकल्प नभएपछि भारी मनका साथ आफूले ताजा जनादेश लिने निर्णय गरेको बताए । बिघटित प्रतिनिधिसभाका सदस्यहरुको आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टीका एकथरी नेताले पार्टीलाई जनताले सुम्पेको जनादेश बिर्सेर सधैं सरकारका काममा अवरोध मात्रै गरेको बताए ।
उनले विचार, संगठन र गन्तब्यमा स्पष्ट विशाल पार्टी बनाउने उद्देश्य सफल पार्न आफू सक्रिय रहेको तर अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल लगायतका नेताहरु सरकारका मुलुकको काममा अवरोध गरी बिग्रहतिरको बाटोमा अग्रसर बनेकाे स्पष्ट पारे ।
‘हामी एकता एकीकरणका काम टुङ्ग्याएर सहमतिका साथ एकताको महाधिवेशन गर्ने, विचार, संगठन र गन्तब्यमा स्पष्ट पार्टी बनाउन सक्रिय थियौं । तर, उहाँहरु एकतामा भावनात्मक सम्मानका लागि गरिएको ब्यवस्थालाई दुरुपयोग गरेर पछाडि फर्कनै नसक्नेगरी समीकरणका आधारमा पार्टीलाई चिरा पार्ने र बिग्रह, बेमेलको वतावरण निर्माण गर्न अग्रसर हुनु भयो’ प्रधानमन्त्री ओलीले भने, ‘संसद् बिघटन मेरो निजी रोजाई होइन, पार्टीको आन्दोलन र भविष्य जोगाउन अरु कुनै बिकल्प नभएपछि भारी मनका साथ ताजा जनादेशका लागि जनतामा जाने निर्णय गर्नुपर्यो ।’
जनताले दिएको विश्वास पूरा गर्न अवरोध गरेपछि त्यस अवरोधलाई पनि जनतासमक्ष नै प्रस्तुत गर्न ताजा जनादेशको निर्णयमा पुग्नु परेको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले जनताको मतबाट निर्णय लिने कदमलाई निरंकुश भनी कृतिम न्यारेटिभ खडा गर्ने प्रयास भएको पनि बताए ।
‘अप्ठेरोमा जनतासमक्ष जानुलाई निरंकुश कदम भन्ने न्यारेटिभ चलाइएको छ, त्यो गलत छ’ प्रधानमन्त्री ओलीले भने, ‘जनताले जुन आदेश दिएर पठाएका थिए, त्यसलाई पूरा गर्न अवरोध खडा गरेपछि जनतामा जानु उच्च लोकतान्त्रिक कदम हो ।’
उनले सरकार गठन भएको केही समयदेखि नै मुलुकलाई समृद्ध बनाउने र जनतालाई सुखी बनाउने हरेक कदममा ब्यक्तिगत स्वार्थ तेस्र्याएर पाइला छेक्ने प्रयास भएको बताए । उनले भने, ‘एकतापछि पार्टीको सचिवालयका ७५ वटा सचिवालय बैठक भए, कुनै बैठकमा पनि देश, जनतासँग सम्बन्धित विषयमा छलफल गर्न उहाँहरु कहिल्यै राजी हुनु भएन, मेरा मान्छेलाई खोई, मलाई खोई, उधारो होइन हाताहाती चाहिन्छ भन्ने उहाँहरुको स्वार्थपूर्तिले घेरिनु पर्यो । जस्तोसुकै दुश्प्रचारको सहारा लिए पनि जनताले यो कुरा बुझेका छन् ।’
प्रधानमन्त्री ओलीले लामो समयदेखि लथालिङ्ग रहेको मुलुकको अवस्था सुधार्न गरिएका कामहरुलाई ओझेलल पार्न तिनै बेथितिका झिल्काहरु टिपेर मुलुक बर्बाद भएको भन्दै दुश्प्रचार भइरहेको बताए । ‘साढे दुई वर्षमा यतिधेरै अवरोधका बीच पनि विकास र समृद्धिका सुस्पष्ट योजनासाथ अघि बढ्यौं र यसमा सफलता पनि पाएका छौं । वर्षौदेखि पछौटे रहेको देश एकै पटक बनिसकेको हुँदैन, त्यही क्रममा बेथितिका झिल्का देखाएर केही नगरेको भन्ने प्रचारबाजी भए ।’ प्रधानमन्त्रीले भने, ‘सरकारले के गरिरहेको छ र त्यसलाई बदनाम गर्न के प्रचार भइरहेको छ जनताले बुझेका छन् ।’
प्रधानमन्त्री ओलीले बिघटित प्रतिनिधिसभाका सदस्यहरुलाई निर्वाचन क्षेत्रमा केन्द्रि रहेर चुनावी तयारी गर्न निर्देशन दिए । ‘तपाईंहरु अब निर्वाचन क्षेत्र जानुहोस्, हामीले गरेका अभूतपूर्व कामहरुलाई रोक्न भएका षडयन्त्रबारे जनतालाई बुझाउनुहोस्’ प्रधानमन्त्री ओलीले भने, ‘कसले काम गर्यो, कसले काम गर्न अवरोध गरेर षडयन्त्र तिकडम मात्र गर्यो, जनतालाई बुझाउनु पर्छ ।