
विराटनगर । चोरी भएको मोटरसाइकलको नम्बर प्लेट बदलेर बाटोमा डोर्याउँदै गरेकाे अवस्थामा भेटिएपछि चार जना पक्राउ परेका छन् । चोरी भएको मोटरसाइकलसहित चोरीमा संग्लग्न चार जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको हो ।
विराटनगर महानगरपालिका-४ नोबेल अस्पतालको पार्किङ एरियाबाट को ३९ प २४४२ नम्बरको मोटरसाइकल यही पौष ५ गते हराएको थियो । प्रहरीले खोजतलास गर्ने क्रममा ६ गते राति ८ बजे विराटनगर-४ बुढाथोकी मार्गबाट चोरी भएको मोटरसाइकलसहित ४ जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरुमा विराटनगर-४ का २० वर्षीय विवेक थान्दार र अमन थान्दार, बुढिगंगा गाउँपालिका-२ का २० वर्षीय पुजन थान्दार तथा दुहवी नगरपालिका-१० सुनसरीका २० वर्षीय नगेन्द्र चौधरी रहेका छन् । उनीहरुले चोरी गरी लगेको मोटरसाईकलको नम्बर प्लेट परिवर्तन गरी बुढाथोकी मार्गमा डोर्याउँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरीएको तथा सो सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।