
माङसेबुङ, ८ पुस । इलामको माङ्सेबुङ गाउँपालिकाले वडावडामै पुगेर अपाङ्गता परिचयपत्र वितरण शिविर सञ्चालन गर्ने भएको छ । अपाङ्गता भएका व्यक्तिलाई सहज हुने स्थानमा शिविर सञ्चालन गरेर पालिकाले अपाङ्गता परिचयपत्र वितरण गर्न लागेको हो ।
गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोका अनुसार पौष ८ देखि १३ गतेसम्म सबै वडामा विशेषज्ञ डाक्टरसहितको टोलीले सम्बन्धित वडामा नै गएर शिविर सञ्चालन गर्नेछ । वडावडामा नै पुगेर अपाङ्गताहरुलाई परिचयपत्र विरतण संगै स्वास्थ्य जाँच गर्दा सेवाग्राहीलाई सहज हुने भएकाले शिविर सञ्चालन गर्न लागिएको इदिङ्गोले बताए ।
गाउँपालिकाले ८ गते वडा नम्बर १ को वडा कार्यालय, ९ गते वडा नम्बर ३ को चतुरेमा, १० गते वडा नम्बर ४ को वडा कार्याला, ११ गते वडा नम्बर ५ को भालुटार, १२ गते वडा नम्बर ६ को चिसोपानी पंचमी बजार र १३ गते वडा नम्बर २ को वडा कार्यालयमा शिविर संचालन गर्ने जनाएको छ ।
शिविरमा यसअघि नै अपाङ्गता परिचयपत्र पाएकाहरुको परिचयपत्र प्रतिस्थापन गरेर नयाँ वितरण गरिने र नयाँ अपाङ्ता भएका व्यक्तिलाई नयाँ परिचयपत्र वितरण गरिने गाउँपालिकाले जनाएको छ ।
पालिकाको अनुसार फरक क्षमता भएका व्यक्तिलाई अपाङ्गताका आधारमा चार किसिमको परिचयपत्र वितरण गरिएको थियो । शिविरमा यसअघि नै अपाङ्गता परिचयपत्र पाएका व्यक्तिहरुलाई आफ्नो परिचयपत्र अनिवार्य ल्याएर आउन समेत गाउँपालिकाले अनुरोध गरेको छ ।