२०८२ बैशाख १६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

राजविराज, ८ पुस । सप्तरीसहित तराईका जिल्लामा गोरुले धान दाउनी गर्ने चलन हराउन थालेको छ । दाउनी गर्ने प्रविधि भित्रिएपछि गोरु वा राँगाले दाइँ (दाउनी) गर्ने परम्परा लोप हुने अवस्थामा पुगेको छ । धान गहुँ दाउनी गर्ने आधुनिक प्रविधि थ्रेसर मेसिन भित्रिएपछि गोरुले दाउनी गर्न किसानले छोडेका छन् । थ्रेसेरबाट छिटो, छरितो एवं सस्तोमा दाउनी भएपछि यसप्रति किसानको आकर्षण बढेको छ भने यसको प्रयोग पनि नियमित गर्दै आएका छन् ।

धान काटिएपछि गोरुले दाउनी गर्न मजदुर नपाइने, पाए पनि समय धेरै लाग्ने हुँदा निकै झन्झटिलो हुँदा पुरानो परम्परावादी दाउनीलाई त्यागेर आधुनिकतामा ढल्किएको कृषक देवनारायण यादवले बताए । गोरुले दाउनी गर्न वर्षभर गोरु पाल्नुपर्ने, हरवा चरवा वा मजदुर राख्नुपर्ने आवश्यक हुने उहाँले अहिले गोरु पाल्न छोडेको र चाहेको बेलामा मजदुर पनि नपाइँदा दाउनी हराउन थालेको उनले बताए ।

अर्का कृषक सीतावीप्रसाद साहले भने, “नयाँ पुस्ताले मेह कराम जस्ता शब्द पनि सुनेको छैन, कराम बनाउन सीप पनि जानेको छैन । गोरु पनि पाल्न चाहेको छैन । यस्तो अवस्थाले नै गर्दा गोरुबाट दाउनी गर्ने चलन हराउन लागेको छ । कृषकको यस्तो संस्कृतिलाई जोगाउन र नयाँ पुस्तालाई जानकारी गराउन कृषक सङ्ग्राहलय आवश्यक रहेको उहाँको कथन छ । ”

नयाँ पुस्ता र काम गर्ने सबै विदेशिएसँगै गाउँघरमा काम गर्ने मजदुर नहुँदासमेत दाउनीमा समस्या हुने गरेका सुरुङ्गा नगरपालिकाका कृषक इनरदेव चौधरीले बताए ।

बालाबाट धान र पराल छुट्याउन कम खर्च र छिटो–छरितो रूपमा काम गर्न किसान थ्रेसरको प्रयोगलाई उच्च प्राथमिकतामा राखेका छन् । बालाबाट धान झार्न गोरुलाई परालमा हिँडाएर दाइँ लगाउने चलन रहेकामा मेसिनको प्रयोग बढेपछि सो चलन हराउँदै गएको राजविराज नगरपालिकाका अर्का कृषक कमानन्द यादवले बताए ।

गाउँमा मजदुर नहुँदा थ्रेसर मेसिनले दाइँ हालेर कतिपय किसानले खेती थन्क्याउने गरेको उनको कथन छ । किसानको मौलिकतासँग जोडिएको दाउनी र यसमा प्रयोग गरिने सामग्रीको संरक्षण, संवद्र्धन गरेर जीवन्त राख्नुपर्ने आवश्यक रहेको संस्कृतिविद् पूर्वप्राज्ञ पीताम्बरलाल यादव बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!