
विराटनगर, ८ पुस । भुटानमा फेरि एक साताका लागि लकडाउनको घोषणा गरिएको छ । कोरोना भाइरसको संक्रमण देखिएपछि भुटानका प्रधानमन्त्री लोते शेरिङले बुधबारदेखि लागू हुनेगरी देशभर लकडाउन घोषणा गरेका हुन् ।
लकडाउनको समयमा भुटानमा एक शहरबाट अर्को शहरको प्रवेशमा पनि रोक लगाइएको छ । राजधानी थिम्पुमा पाँच जनामा कोरोना संक्रमण देखिएपछि थप संक्रमण रोक्नका लागि भन्दै भुटान सरकारले लकडाउनको घोषणा गरेको हो ।
लकडाउनको अवधिमा अनिवार्य रूपमा मास्क लगाउन, एकै ठाउँमा पाँच जना भन्दा बढी भेला हुन नपाइने नियमसमेत बनाएको छ । भुटान सरकारले यसअघि पहिलो पटक अगष्ट ११ देखि ५ दिनका लागि लकडाउन गरेको थियो ।
भुटानमा हालसम्म ४ सय ७९ जना कोरोना संक्रमित फेला परेका छन् भने कसैको पनि कोरानाका कारण मृत्यु भएको छैन ।