
विराटनगर, १२ पुस । मुख्यमन्त्री शेरधन राईले नेपालको संविधानको धारा १६९ को (२) (ख) बमोजिम प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोलाई पदमुक्त गरेका छन् । आफू विरुद्ध अविश्वासको प्रस्ताव दर्ताको तयारी भएपछि मुख्यमन्त्री राईले शनिबार बेलुका मन्त्री आङ्बोलाई पदमुक्त गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका मुख्यमन्त्री राई अल्पमतमा छन् । अल्पमतमा रहेका राई अविश्वास प्रस्ताव दर्ताको तयारी गरेको सूचना पाएपछि प्रचण्ड– नेपाल पक्षका मन्त्री आङ्बोलाई पदमुक्त गरेका हुन् ।
पदमुक्त भएपछि आङ्बोले २ वर्ष १० महिना काम गर्न दिएकोमा मुख्यमन्त्री राईलाई धन्यवाद दिएका छन् । पदमुक्त भएका आङ्बाले आफ्नै अगुवाईमा अविश्वासको प्रस्ताव दर्ता गर्ने बताएका छन् ।
‘पदमुक्त गरेर मुख्यमन्त्रीज्यूले बाटो खोलिदिनु भएको छ । अब मेरो अगुवाईमा अविश्वासको प्रस्ताव दर्ता हुन्छ,’ उनले भनेका छन् । मुख्यमन्त्री राई पूर्वएमाले र आङ्बो पूर्वमाओवादी हुन् ।