
विराटनगर, १२ पुस । प्रदेश १ सरकारले प्रदेश नं. १ को प्रदेशसभा अधिवेशन ०७७ माघ ७ गते अपरान्ह २ बजे बोलाउने गरी सिफारिश गरेको छ ।
विराटनगर स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको मन्त्रिपरिषद बैठकले प्रदेशसभा अधिवेशन आव्हानका लागि प्रदेश प्रमुखलाई सिफारिश गरेको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिए ।
बजेट अधिवेशन गत साउन ९ गते सम्पन्न भएकाले माघ ८ गते अघि नै प्रदेश सभा बैठक आव्हान गर्नुपर्ने संवैधानिक बाध्यता रहेको थियो । यसैगरी मन्त्रीपरिषद बैठकले प्रदेश यातायात नियमावली २०७७ स्वीकृत गरेको छ ।
प्रदेशसभा अगाडि प्रदेश १ सरकारका मन्त्रिपरिषद्का एकजना मन्त्रीसहित दुई राज्यमन्त्रीले राजीनामा दिएका छन् । मुख्यमन्त्री शेरधन राई समक्ष सामाजिक विकास मन्त्री जीवन घिमिरे, राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयविश्वास थारुले आइतबार राजीनामा दिएका हुन् ।