
काठमाडाैं, १२ पुस । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लागू गर्नुपर्ने बताएका छन् । आइतबार मन्त्रालयमा पदभार ग्रहण गरेपछि बाेल्दै रायमाझीले कुनैपनि वैदेशिक लगानीलाई अस्वीकृत गर्न नहुने भन्दै एमसीसीलाई लागू गरेर अगाडि बढ्नुपर्ने बताएका हुन् ।
एमसीसी सम्झौतामा देशको स्वाभिमान कमजोर पार्ने विषय भएमा सच्याएर भएपनि कार्यान्वयनमा लैजानु पर्ने बताउँदै उनले विदेशी लगानीलाई ल्याउन हुन्न भन्ने कुरा, यो अपराध नै हो, यो हाम्रो देश कोल्याप्स हुन्छ र हाम्रो देशमा आक्रमण हुन्छ भन्ने कुराहरुमा आफूलाई विश्वास नभएकाे बताए ।
एमसिसीसँग सम्बन्धित विषय देशको पक्षमा रहेको बताउँदै त्यसबारे विवाद सिर्जना गर्नेभन्दा पनि कार्यान्वयनको पक्षमा सहयोग गर्न आग्रह गरे ।
यस्तै मन्त्री रायमाझीले लक्ष्यअनुसार मुलुकको समृद्धि र विकासको पक्षमा परिणाम आउने गरी काम गर्न कर्मचारीलाई निर्देशनसमेत दिए । “हामी ऊर्जामा अझै पनि आत्मनिर्भर हुन सकेका छैनौँ तर पनि निर्यातको क्षेत्रमा अगाडि बढिरहेका छौँ, देशको विकास र समृद्धिलाई अगाडि बढाउन ऊर्जा क्षेत्रका सम्भावनालाई अगाडि बढाउनुपर्नेछ,” उनले भने ।