
विराटनगर, १२ पुस । मुख्यमन्त्री शेरधन राईले संविधान र संघीयतालाई कार्यन्वयन हुननदिन अनेकौं प्रयासको रुपमा आफू विरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको सामना गर्ने बताएका छन् ।प्रदेश १ प्रदेशसभामा मुख्यमन्त्री विरुद्ध आइतबार अविश्वासको प्रस्ताव दर्ता मन्त्रिपरिषद् कार्यालयमा पत्रकारसँगको कुराकानीमा मुख्यमन्त्री राईले कुत्सित षड्यन्त्रको सामना विकेकपूर्र्ण ढंगले गर्ने बताएका हुन् ।
मुख्यमन्त्री राईले भने, ‘प्रदेशसभाका मान्य सदस्यहरु विवेक पुर्याउने हैसियतमा हुनुहुन्छ । बनिबनाउ, सुनियोजित र कतैबाट निर्देशित अविश्वासको प्रस्तावको सामना त्यहिं भित्रैबाट गर्नेछु ।’
उनले आफू विरुद्धको अविश्वासको प्रस्ताव मुख्यमन्त्रीले संस्थागत नेतृत्व गर्न नसकेको कारण नभई प्रदेशलाई तहसनहस बनाउने षड्यन्त्रको रुपमा आएको दावी गरे । ‘आरामले सामना गरेर संघीयता र प्रदेशलाई तहसनहस बनाउने चाहनालाई बिफल बनाउँछु । पुनः सुविधाजनक बहुमतका साथमा प्रदेशको नेतृत्व गर्नेछु’, उनले भने ।
उनले जनादेशबाट प्राप्त प्रधानमन्त्रीलाई बन्द कोठामा राखेर लेनदेनको हिसाब गर्ने प्रयास भएपछि ताजा जनादेशमा जानु परेको दावी गरे । समृद्धिको यात्रामा अवरोधक देखिनेहरु जनतासँग डराइरहेकाे बताउँदै उनले प्रधानमन्त्रीलाई पार्टी भित्रैबाट घेराबन्दी गरेर समृद्धिको यात्राका लागि आवश्यक कामहरु गर्न नदिनेहरुले संविधान जारी हुँदाताकादेखि नै अवरोध गरिरहेको बताए ।
‘के प्रधानमन्त्रीले जनताको ‘म्यान्डेट’ लाई लेनदेनमा साट्न मिल्थ्यो ? जनताबाट निर्वाचित प्रधानमन्त्रीले जनादेश रोज्नु नै उत्तम विकल्प थियो ।’ उनले भने ।