
इनरुवा, १३ पुस । सुनसरीको इनरुवाबाट लागुऔषधको कारोवार गर्ने एक महिलासहित चारजना पक्राउ परेका छन् । इनरुवा नगरपालिका-३ शिवालय टोलबाट लागुऔषधको कारोवारमा संग्लग्न रहेका उनीहरूलाइ विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेकाे हो ।
पक्राउ पर्नेमा स्थानीय ३२ वर्षीया ममता श्रेष्ठ, ३२ वर्षीय निरज शिवाकोटी, रामधुनी नगरपालिका-७ का २२ वर्षीय रुपेश माझी र २१ वर्षीय मनिष राई रहेका छन् ।
लागुऔषधको कारोवार भईरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले लागुऔषध डाइलेक्स-डिसी ५३ बोतल, नाइट्रोसन १६० ट्याब्लेट, डाइलेक्स डिसीको बिर्को तथा बिर्कोमा लगाउने लक (रिङ) ११० थान, बिभिन्न कम्पनीको ८ थान मोवाइल र प्रदेश १-०२-०४१ प ९६४१ नम्बरको मोटरसाईकल समेत बरामद गरेको छ ।
लागुऔषधसहित पक्राउ परेका निजहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।