
विराटनगर । पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्ना दाजु स्व. वीरेन्द्र शाहको अन्त्यका विषयमा परिवारमाथि आरोप लगाउँदा दुःख लाग्ने बताएका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत् ज्ञानेन्द्रले दाजु तथा पूर्वराजा वीरेन्द्रको हत्या आरोप आफ्नो परिवारमाथि लगाइँदा मर्माहत हुने बताए ।
वीरेन्द्रको २०५८ साल जेठ १९ गतेको शुक्रवार नारायणहिटी दरवारभित्र हत्या गरिएको थियो । वीरेन्द्र नेपालका दशौँ शाहवंशीय राजा थिए । उनले २०२८ देखि २०५८ सम्म नेपालको शासन गरेका थिए ।
नारायणहिटी दरवार हत्याकाण्ड अहिलेसम्म पनि कस्ले घटाएको भन्ने खुलेको छैन । विभिन्न प्रतिवेदनहरुमा छोरा दीपेन्द्रले घटाएको भनिएको छ तर यो कुरा जनताले पत्याउन भने सकिरहेका छैनन् ।
मंगलबार ज्ञानेन्द्रले वीरेन्द्रको ७६औं जन्मयन्तीको अवसरमा श्रद्धाञ्जली व्यक्त गरेका थिए । बिहान उनले लेखेका थिए, ‘हाम्रा आदरणीय दाजु वीरेन्द्र वीरविक्रम शाहदेवको ७६औं जन्म जयन्तीका अवसरमा वहाँप्रति हार्दिक श्रध्दाञ्जली ।’
त्यसको १२ घण्टापछि ज्ञानेन्द्रले दाजुको हत्या आरोप परिवारमाथि लागेको संकेत गरेका छन् । उनले लेखेका छन्, ‘प्रत्यक्ष–परोक्ष रूपमा विभिन्न भावभङ्गीमा हाम्रो परिवारमाथि हाम्रा प्रिय दाजु र वहाँको परिवारको अन्त्यका विषयमा भनिने कुराहरूले हामीलाई निक्कै मर्माहत तुल्याउने गर्दछ । जनताको मत पाएका सत्तासिन व्यक्तिहरूलाई वहाँको हत्याको छानबिन गर्ने पूर्ण अधिकार छ ।’