२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

राजविराज, १७ पुस । न त ठूलो पूँजी लगाउनु परेको छ न त कुनै पसल नै खोलेर बस्नु परेको छ, तर पनि कैलालीको मोनेल गाउँपालिका–६ घर भई राजविराज नगरपालिकामा बस्दै आएका ताराप्रसाद जोशीले राम्रो आम्दानी गरिरहेका छन् । उनको कमाईको स्रोत कुनै जागिर वा अन्य कुनै कठोर परिश्रम नभई घुमफिर कागती चिया (लेमन टी) चिया बेच्ने व्यवसाय हो ।

सप्तरी सदरमुकाम राजविराज नगर क्षेत्रमा लेमन टी चियावालाका रुपमा परिचित ४८ वर्षीय जोशी राजविराज नगर क्षेत्रको घरघर, चौकचौक र सरकारी कार्यालयमा लेमन टी चिया पुर्याएर राम्रो आम्दानी गर्दै आएका छन् । लेमन टी चिया बेचेरै जोशीले ६ जनाको परिवार मात्रै पाल्दै आउनुभएको छैन, आफ्ना चारजना छोराछोरीलाई समेत उच्च शिक्षामा पढाइ रहेका छन् ।

उनले गरीबी र पारीवारिक कारणले आफूले राम्ररी पढ्न नपाए पनि छोराछोरीलाई राम्रो शिक्षा दिलाएर ठूलो मान्छे बनाउने सोच बनाइसकेका छन् । विगत चार वर्षदेखि नगर क्षेत्रमा घुमफिर लेमन टी चियाको व्यवसायी गर्दै आएका जोशीले राजविराजमा घरघडेरीसमेत जोड्ने तयारी गर्दै छन् ।

लेमन टी चिया बेचेर दैनिक एक हजार ५०० देखि रु दुई हजारसम्म कमाई हुँदै आएको उनी बताउँछन् । “दिनमा २०० देखि २५० कपसम्म लेमन टी चिया बिक्री हुँदै आएको छ”, जोशी भन्छन्, “एक कपको रु १० आउँछ यसरी जोड्दा दैनिक दुई हजारभन्दा बढी कमाई भइहाल्छ ।” स्वास्थ्यका दृष्टिकोणले समेत उपयुक्त मानिने लेमन टी चियाको माग बजारमा अत्यधिक भए पनि एक्लैले चिया पु¥याउन भ्याइनभ्याई हुने गरेको उनको कथन छ ।

थोरै लगानीबाट शुरु गरेको घुमफिर लेमन टी चिया बेच्ने व्यवसायी गरी परिवार पाल्नाका साथै त्यही कमाईबाट अहिले जेठो छोरालाई सिभिल इन्जिनीयर, कान्छो छोरालाई ओभरसियर र जेठी छोरीलाई स्टाफ नर्स पढाइ रहेको जोशीको भनाइ छ ।

“चिया बेचेर थोरै बचत गरेको राखेको छु”, जोशी भन्छन्, “अब राजविराजमै घडेरी जोड्ने तयारी गर्दैछौँ ।” परिवारको गरिबी अवस्थाका कारण केही समय भारतको पञ्जाव, हरियानालगायत शहरमा मजदुरी गरेर फर्किएका जोशी अरुको मजदुरी गर्नुभन्दा लेमन टी चियाको व्यवसाय नै ठीक लागेको उनको अनुभव छ ।

‘‘मजदुरी गर्दा थुप्रै समस्या हुन्छ, अरुको अधिनमा बसेर काम गर्नुपर्दा मन खिन्न लाग्थ्यो। अहिले आफ्नो घुमफिरको व्यापार छ, स्वतन्त्र रुपमा जति मिहिनेत गर्छु, त्यो हिसाबले आम्दानी हुन्छ, अहिले ढुक्क छु,” उनी भन्छन् ।

गाउँका छिमेकीहरुको सहयोगमा राजविराजमा आएर लेमन टी चिया बनाएर बेच्ने काम शुरु गरेको सम्झिँदै जोसी भन्छन्,‘‘आफ्नो घर नजिकैका साथी राजविराज नजिकैको भारतको कुनौलीमा चियाको व्यापार गरिरहनु भएको छ, उहाँकै सहयोगमा म राजविराजमा आएर यही काम शुरु गरे, अहिले आफ्नो व्यवसायी राम्रो भएको छ । ‘थोरै कमाउ तर देशमै बसेर मिहिनेत गरेर कमाउँ’ भन्ने सोच भएर आफू बिदेश नगएर स्वदेशमै कम लगानीमा राम्रो आम्दानी गर्दैछु, यसबाट आफू र आफ्ना परिवारका सदस्यहरु सन्तुष्ट छन् ।”

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!