
काठमाडौँ, १६ पुस । गत आर्थिक वर्ष २०७६/७७ भर जम्मा तीन अर्ब रुपियाँको मात्र निर्यात भएको भटमास तेल चालू आवको पाँच महिनामै १३ अर्ब रुपियाँभन्दा बढीको निर्यात भएको छ । भन्सार विभागको पछिल्लो तथ्याङ्कअनुसार १३ अर्ब ५० करोड रुपियाँसहित भटमास तेल सबैभन्दा धेरै निर्यात हुने सूचीमा शीर्षस्थानमा छ ।
नेपालबाट भारतमा मात्र भटमास तेल निर्यात भएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ । भटमास तेलका लागि आवश्यक भटमासको आयातमा भने नेपालले १४ अर्ब ६० करोड रुपियाँ खर्च गरेको देखिन्छ । नेपालले अर्जेन्टिनाबाट मात्रै मङ्सिरसम्म ११ अर्ब ३० करोड रुपियाँभन्दा बढीको भटमास आयात गरेको छ । यसबाहेक ब्राजिल, चीन, इन्डोनेसियाजस्ता देशबाट पनि भटमास आयात भएको देखिन्छ ।
भटमासको यो निर्यात स्वभाविक भने देखिँदैन । विगत दुई वर्षमा पाम तेल निर्यातको चक्रजस्तै भटमास तेल निर्यातमा देखिएको छ । नेपालमा उत्पादन नै नहुने पाम विदेशबाट ल्याएर नेपालमा प्रशोधन मात्र गरेर त्यसको तेल भारत निर्यात गर्दा गत दुई आर्थिक वर्षहरूमा यो नेपालबाट निर्यात हुने सूचीमा अग्रस्थानमा थियो ।
भारतले नेपाललाई दिएको सहुलियतपूर्ण भन्सार सुविधाको उपयोग गर्दै उद्योगीले पाम ल्याउने र त्यसलाई नेपालमा प्रशोधन गरेर भारत निर्यात गर्दै आएका थिए । भटमास तेलमा पनि त्यही किसिमको प्रवृत्ति देखिएको स्वयं उद्योगीहरू नै बताउँछन् ।
भटमास आयात गरेर त्यसलाई प्रशोधन गर्दै भारतमा तेल निर्यात मौलाउँदा यसको निर्यात बढेको उद्योगीहरूको भनाइ छ । भटमास तेल निर्यात गर्दा लाग्ने भन्सार महसुलमा छुट सुविधाका कारण नेपालबाट यसको निर्यात बढिरहेको हो ।