
स्याङ्जा, १८ पुस । गल्याङ नगरपालिका–११ दिमिककी ६५ वर्षीया टोपला अधिकारी यति बेला दङ्ग छन् । बृद्धअवस्थामा साथमै छोरा अनि छोराको कमाइले उनलाई दङ्ग बनाएको हो । टोपलाकी ४५ वर्षीय छोरा सूर्यप्रसाद अधिकारीले १५ वर्ष विदेशी भुँमिमा बिताए पनि सहारा चाहिने बेलामा साथमै छोरा अनि छोराको कमाइले उनलाई निकै खुसी तुल्याएको छ ।
सूर्यप्रसादले सूर्य दर्शन एग्रो फार्म दर्ता गरेर हाल दैनिक ५० लिटर दूध बिक्री गर्दै आएका छन् । अधिकारीले ९ वटा दुहुना गाई भैँसीबाट दैनिक ५० लिटर दूध बेच्दै मासिक करिब ५० हजार कमाउँदै आएको हुन् ।
उनले वार्षिक रुपमा खर्च कटाएर ६ लाख कमाई हुने बताए । पशुपालन सँगै अधिकारीको फर्ममा २०० सय च्याउका गोलाबाट च्याउ उत्पादन भइरहेका छन् भने आगामी दिनका लागि पनि २०० सय गोला तयारी अवस्थामा छन् ।
फार्ममा २५ लाख लगानी गरिसक्नुभएका अधिकारी भन्छन्, ‘सरकारको सहयोग पाएमा भविष्यमा च्याउ खेती, माछा पालन, कुखुरा, टर्की पालन सँगै उक्त क्षेत्रलाई फाम स्टे समेत बनाउने योजना छ ।’ कृषि तथा पशुमा अध्ययन तथा अनुसन्धान गर्न आउन चाहानेलाई आवास सहितको फामस्टे बनाउने उनको योजना हो ।
६५ वर्षकी आमाको साथ र दुई जना कामदार राखेर कृषि कर्ममा लागेको कृषक अधिकारीले बताए । सकारात्मक सोचको विकास हुन नसक्दा कामदार पाउने गाह्रो हुने अधिकारीले बताए ।
उनले भने, ‘देश छाडेर विदेश जाँदा जुन काम पनि हामी गछौँ तर आफ्नै गाउँ ठाउँमा काम गर्ने प्रवृत्तिको विकास छैन । सकारात्मक सोचको अलि कमीका कारण कामलाई ठुलो र सानो भनेर हेर्न गर्दा कामदार पाउन गाह्रो छ ।’
विदेशमा राम्रै पैसा कमाएर पोखरामा परिवारलाई व्यवस्थापन गरिसक्नुभएका अधिकारीलाई गल्याङका मेयरको हौसला र आफ्नै ठाउँमा केही गनुपर्छ भन्ने स्वयम आफ्नो अठोटले आफ्नै जन्मथलोलाई विकास गर्ने प्रेरणा मिलेको हो । झन्डै २ वर्षदेखि फर्ममा लाग्नुभएका अधिकारीको आमा समेत खुसी छन् ।
सूर्यप्रसादकी आमा टोपला अधिकारी भन्छन्, ‘काम नगरी बस्नु हुँदैन काम गरे हाम्रो शरीरका विभिन्न अङ्ग सञ्चालनमा आउँछन् । व्यायाम पनि हुन्छ । त्यसैले स्वस्थ हुनका लागि पनि आफू सक्दो काम गर्नु पर्छ ।’
घरमै बसी बसी छोराले नगदे बाली च्याउ र दूध बचेर हातमा पैसा समाउँदा खुसी लागेको आमा अधिकारीले बताइन् । आफ्ना छोराछोरीले आफ्ना बा आमा तथा परिवारसँगै बसेर आम्दानी गरोस् भन्ने चाहाना सबैको हुने भएकाले कृषिमा पनि मेहेनत गर्न सकिएमा प्रशस्त पैसा रहेको वृद्ध आमा टोपला अधिकारीले बताए ।