
विराटनगर, १६ पुस । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने १५ जना सांसदलाई निलम्बन गरेका छन् । उनले बिहीबार पार्टी विधानविपरित काम गरेको भन्दै दाहाल–नेपाल समूहका १५ जना प्रदेशसभा सदस्यलाई तीन महिनाका लागि निलम्बन गरी अनुशासनको कारबाही गरेका हुन् ।
प्रदेशसभा सदस्यलाई निलम्बन गरेको बोधार्थ पत्र प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले प्रदेशसभा सचिवालयमा बुझाएका हुन् । मुख्यमन्त्री शेरधन राईले संसदीय गतिविधिमा संलग्न हुन नपाउनेगरी दलको नेताको हैसियतमा निलम्बन गरेकाे राजभण्डारीले बताए ।
गएकाे सोमबार दलको नेताको हैसियतमा मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । दलको विधानविपरित दलका नेता मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रतावमा हस्ताक्षर गरेकामध्ये १९ जना प्रदेशसभा सदस्यलाई प्रमुख सतेक बुद्धिकुमार राजभण्डारीले मुख्यमन्त्रीको निर्देशनमा सोमबार २४ घण्टे स्पष्टिकरण सोधेका थिए ।
स्पष्टिकरण सोधिएकामध्ये १५ जनालाई संसदबाट निलम्बन गरिएको प्रमुख सचेतक राजभण्डारीले बताए । निलम्बनमा परेका सांसदहरुमा भीम प्रसाद आचार्य, राजेन्द्र राई, मोहनकुमार खड्का, लिलाबल्लभ अधिकारी, लछुमन तिवारी, कुलप्रसाद साम्बा, ईन्द्रबहादुर आङ्बो, विजयकुमार विश्वास, यशोदा अधिकारी, धिरेन्द्र शर्मा, जीवन घिमिरे, कुसुम कुमारी श्रेष्ठ, टंक आङ्बुहांङ, साबित्राकुमारी रेग्मी र सरिता थापा छन् ।