२०८१ चैत्र ४       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

बारा, १७ पुस । तराईमा प्रचलित विभिन्न प्रकारका भुजा भुट्ने घोन्सारीहरु अचेल लोप हुँदै गएकाले मीठो र स्वादिलो भुजा हराउन थालेको छ । घोन्सारीमा भुजिएका भुजा खान मानिसहरुले धेरै रुचाउँछन् । अहिलेको प्रविधिको युगमा भुजा मिलमा तयार हुन्छ, जुन खाँदा स्वादिलो हुँदैन । यसलाई आउने पिढीले जोगाउन सक्दैन ।

युवा अवस्थामा दुई छोरा परलोक गएपछि बुढेस्कालमा पेट पाल्न घोन्सार लगाउनुपरेको वीरगंज महानगरपालिका वडा नम्बर १५ लक्ष्मणवा टोलका ६३ वर्षीय भिखारी साह गोढले बताए । बारा, पर्साको दुई जिल्ला जोड्ने सीमामा रहेका लक्ष्मणवा टोलमा पत्नी चम्पादेवीको सहयोगमा दुई नातिनातिनी र बुहारीको पेट पाल्न यो, घोन्सारबाट दैनिक ५र६ किलो चामल आम्दानी हुने गरेको भिखारीले भने ।

पहिले प्रत्येक गाउँमा एउटा घोन्सारी निश्चित रुपले हुन्थ्यो र गाउँलेहरु प्रत्येक दिन आफूले रोजेको अनाजको भुजा बनाउन घोन्सारीतिर आउँथे । घोन्सारीमा लाममा बसी भुजा भुजाइ परिवारसँग बसी खान्थे । यही भुजा खेतमा काम गर्ने मजदुरलाई पनपिआईको रुपमा दिने गर्थे । तर आज कुनै गाउँमा बिरलै भन्सारी पाइन्छ ।

औंंलामा गनेर जिल्लाको चारपाँच वटा ठाउँ अर्थात पर्साको प्रसौनी, नकटुवा, नगवा, ईनर्वा, पोखरियालगायतको ठाउँमा घोन्सार चालु अवस्थामा रहेको तथा खेत, खलिहान र सडकबाट बटुलेर पराल, भुस जम्मागरी त्यसैमा आगो लगाएर बालुवा तताउने गरेको उनले बताए ।

यसैगरी बाराको स्र्वण गाउँपालिकाको कल्याणपुर टोल, सिम्रौनगढ नगरपालिकको उचिडिह र कलैयामा मात्र यसरी भुजा भुटेर परिवार पाल्दै आएको अर्का एक जना बाराको प्रसौनी गाउँपालिका–५ लक्षणटोलकी ७२ वर्षीया राधिका देवी भन्छिन् ।

घोन्सारीमा महिलाहरु नै अधिकतर आउने गरेको, जसमा गाउँलेहरु आफूसँग उपलब्ध रहेका चना, चामल, मकै, भटमास, चिना, जनेरा, आन्नदी, बदाम, चिउरा लगायत अनाजहरुको भुजा भुजाउँथे । घोन्सारी अधिकतर गाउँबाट बाहिर रहन्थ्यो, त्यहाँ जमिनमुनि बनाएको एउटा ठूलो खाल्डो हुन्छ, जसमाथि दुई वा तीन वटा माटोको हाँडी (खपडी) खाने तेलको खाली भएको टिना राखेर बालुवा तताइन्छ ।

हाँडीमा बालुवा राखी बालुवा तातेपछि त्यसमा अनाज राखी भुट्दा भुजा तयार हुन्थ्यो । कुन अनाजको लागि कति ताप चाहिन्छ, भन्सरियालाई थाहा हुन्थ्यो र सोही अनुसार बालुवा तताउँथे । बालुवा तताउन उखुको पगार, बाँसको पात र अन्य खरपतवारलाई जलाएर ४ जना परिवार पाल्दै आएको राधिकाले बताए ।

घोन्सरियाले पारिश्रमिकस्वरुप ग्राहकहरुले ल्याएको अनाजबाट केही हिस्सा आफूसँग राख्थे वा सो वापत केही रकम लिएर ल्याएको अनाजलाई भुजा भुज्थे । यसरी भुजा भुज्ने पेशागत जातिमा गोढ, भट, भुजवा, बनियाँ, कानु, भन्सरिया तथा अन्य निम्न आय भएका जातिहरु ठाउँ अनुसार हुन्थे ।

भन्सारी लोप हुने मुख्य कारणमा गाउँगाउँमा रोजगार बढ्नु, विदेशको कमाइ, मेसिनबाट तैयारी भुजाको प्याकेटको उपलब्धता, भुजा बनाउने अत्याधुनिक मिलको स्थापना, गाउँगाउँमा चिया, नास्ताको पसल रहेका महागढीमाई नगरपालिका–१० गंजभवानीपुरका बनारसी गोढले बताए ।

त्यस्तै, मानिसमा इच्छाशक्तिको कमीले पनि आज मीठो र स्वादिलो नास्ता बनाउने भन्सारी लोप हुँदै गएको छ । विकास जति भए तापनि घोन्सारीलाई जोगाएर राख्न जरुरी रहेको स्थानीय भुजा भुजाउन आएकी पुनम देवीले बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!