
देउखुरी, १८ पुस । कागती स्वास्थ्यका लागि निकै लाभदायी फल भएका कारण यसको महत्वलाई विशेष ख्याल गरेर दाङमा व्यावसायिक खेती हुँदै आएको छ । रुकुमका रामचन्द्र खड्काले सूर्या जैविक कृषि केन्द्र प्रालिको नाममा रु ५० लाखको लगानी गरेर तुलसीपुर उपमहानगरपालिका–१९ थानगाउँमा १५ वर्षका लागि २४ कठ्ठा जमिन वार्षिक रु ५० हजारमा भाडामा लिएर एक हजार ५०० कागतीका बिरुवा रोपेका छन् ।
दुई वर्ष पहिले रोपेका ती बिरुवाले यस वर्षदेखि उत्पादन दिन शुरु गरेका छन् । यस वर्ष १५ क्विन्टल कागती बिक्री गरेको उनले बताए । यहाँ उत्पादित कागती घोराही, तुलसीपुरको बजारसँगै काठमाडौँसम्म पुगेको छ । प्रतिकिलो रु १२० मा बिक्री गर्दै आएको उनले जानकारी दिए । कागती खेतीलाई विस्तार गर्ने र व्यवसायलाई निरन्तरता दिने सोच भएको खड्काले बताए ।
लमही नगरपालिका–८ गोजेना निवासी राजकुमार खड्काले राष्ट्रिय वाणिज्य बैंकको जागिरबाट अवकाशप्राप्त भएपछि व्यावसायिकरूपमा कागती खेती गरेका छन् । जागिरको सिलसिलामा विभिन्न ठाउँमा जाने अवसर मिलेकाले त्यहाँका किसानले गरेको व्यावसायिक कृषिले आकर्षण गरेपछि एक बिघा आफ्नो जमिनमा विभिन्न जातका १०० बिरुवा कागती लगाएको र पछि त्यसलाई विस्तार गरी ४०० बिरुवा पुर्याएको खड्काले बताए ।
राज बहुउद्देश्य कृषि फार्म दर्ता गरेर व्यावसायिक कागती खेतीमा लागेको खड्का बताउँछन् । उनले सुन कागती –१, सुन कागती–२, कलमी र लोकल जातका बिरुवा रोपेका छन् । कलमीले रोपेको दोस्रो वर्षमा नै फल दिन थालेको छ ।
उनलाई गत वर्ष कृषि ज्ञान केन्द्रले रु एक लाख सहयोग गरेको थियो । यो रकमबाट कागती बारीलाई व्यवस्थित गरिरहेको उनले बताए । लमही नगरपालिका–९ मा बगारबाबा कृषि फार्ममा कागतीका बिरुवा हुर्किरहेका छन् ।
छ जनाको लगानीमा चार बिघा जमिन भाडामा लिएर वार्षिक रु एक लाख २० हजार भाडा दिने गरी फार्म सञ्चालन गरिएको सदस्य गोविन्द रेग्मीले जानकारी दिए । फार्ममा सुनकागती २५०, मङ्गोलियन १००, रैथाने १०० गरी जम्मा ४५० बिरुवा रोपिएको छ ।
कागतीका बिरुवा रोपेको खाली ठाउँमा अदुवा, बेसार खेती गरेर खाली जमिनको सदुपयोग गरी अदुवा र बेसारबाट समेत आम्दानी हुने गरेको छ । कागती हेरचाहका लागि चार स्थानीयवासीलाई रोजगारी दिएको रेग्मीले बताए ।