२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौंँ, १९ पुस । जाडोको मौसममा बालबालिकालाई निमोनियालगायतका रोग लाग्ने सम्भावना बढी हुन्छ । यसैले चिसोबाट सतर्कता अपनाउँदा यसबाट बच्न सकिन्छ ।  जाडोमा निमोनियाबाहेक रुघाखोकी, ब्रोनकाइटिक्स, दमलगायत सरसफाइको कमीले हुने रोगबाट समेत बालबालिका प्रभावित हुन सक्ने हुँदा यसमा सावधानी अपनाउनुपर्छ ।

जाडो मौसममा बालबालिकालाई हुने मुख्य समस्या श्वासप्रश्वाससम्बन्धी हो । त्यसमा रुघाखोकी, नाक बन्द हुने, घाँटी दुख्ने, टन्सिल लगायतका समस्या हुन्छन् । चिसो फोक्सोसम्म पुगेपछि ब्रोनकाइटिक्स, निमोनियाको समस्या देखा पर्छ । विभिन्न प्रकारका भाइरसबाट यी रोग लाग्ने गर्दछ । श्वास नलीमा सङ्क्रमण हुने, दमको समस्या पनि हुन्छ ।

जाडोमा बालबालिकालाई झाडापखाला पनि हुने गरेकाले रोटा भाइरसले एक वर्षभन्दा कम उमेरका बालबालिकालाई सताउँछ । सरसफाइको कमी भयो भने छालाको सङ्क्रमण हुने गर्दछ । चिसोमा सरसफाइको कमी हुने र छालासम्बन्धी रोगले सताउने गर्दछ । छालाको समस्यामा जुम्रा पर्ने, चायाँ पर्ने गर्छ भने कतिपय अवस्थामा सुक्खा छाला भएर पनि समस्या उत्पन्न हुन्छ । चिकित्सकले यसलाई फङ्गल सङ्क्रमण भनेका छन् ।

चिकित्सकका अनुसार जाडोको समयमा घरको भ्यालढोका बन्द गरेर राति सुत्दा थप जटिलता हुन्छ । झ्यालढोका थुनेर हिटर तापेर बस्नाले कार्बन मोनोअक्साइड हुने र मानिसको मृत्युसमेत हुने गर्दछ । हिटर तापेर बस्ने हो भने पनि हावा लाग्ने ठाउँ छोड्नुपर्ने हुन्छ । बच्चालाई धेरै तातो बनाउने क्रममा भित्रभित्रै पसिना आएर बच्चा भिज्ने र निमोनियाको समस्या देखा पर्ने हुनाले सतर्कता अपनाउनुपर्ने विज्ञहरू सुझाउँछन् ।

कोरोना भाइरसको जोखिम पनि छँदैछ । कुनै व्यक्तिलाई सङ्क्रमण छ भने ती व्यक्तिबाट टाढै रहनुपर्छ । बच्चालाई जलविनियोजन हुने सम्भावना हुन्छ । बच्चाको मिर्गौलासमेत फेल हुने अवस्था आउन सक्ने औँल्याइएको छ ।  निमोनिया जाडोबाहेकको अन्य समयमा समेत हुन सक्छ तर जाडोमा बालबालिकालाई निमोनियाको उच्च जोखिम हुन्छ ।

निमोनियाबाट बच्न पोषणमा ध्यान दिनुपर्छ । छ महिनासम्मको बच्चालाई अनिवार्य स्तनपान गराउनुपर्छ । यस्तै सन्तुलित आहार खुवाउने, आमाले सरसफाइमा ध्यान दिने, भीडभाडबाट समेत टाढै रहनु उचित हुन्छ । चिकित्सकको सुझावअनुसार बालबालिकालाई उमेरअनुसार खोप लगाउनुपर्छ । निमोनियाविरुद्धको खोप लगाउनुपर्छ । रुघाखोकी लागेको मानिसबाट टाढा बस्नुपर्छ ।

जाडोयाममा अस्पताल भर्ना भएका अधिकांश बिरामी बालबालिकामा यही समस्या हुने गर्दछ । एक वर्षमुनिका ९० प्रतिशत बालबालिका ब्रोनकाइटिक्स समस्याबाट ग्रसित हुने गरेका छन् । अहिले अस्पतालमा भर्ना भएकामध्ये अधिकांश बालबालिका ब्रोनकाइटिक्स समस्याबाट पीडित भएका नै छन् ।

बच्चालाई ज्वरो आउनु, रुघाखोकी लाग्नु, फोक्सो खुम्ची सास फेर्न गाह्रो हुनु, कोखा हान्नु ब्रोनकाइटिक्सका लक्षण हुन् । जाडोमा बच्चालाई न्यानोमा राख्ने, आमाको दूध खुवाउने, भीड र प्रदूषणबाट बच्चालाई टाढा राख्ने, अक्सिजनको मात्रा जाँच्न उचित निगरानीमा राख्ने, नियमित खोप लगाउनुपर्ने चिकित्सकको सुझाव छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!