
काठमाडौं, २० पुस । लियोनल मेस्सीको पुनरागमनपछि बार्सिलोनाले हुएस्कामाथि ०–१ को साँघुरो जित हात पारेको छ । हुएस्काको घरेलु मैदानमा स्पेनिस ला लिगाअन्तर्गत गए राति सम्पन्न खेलमा बार्सिलोनाको एक मात्र गोल फ्रेन्की डी जाेङले गरे ।
उनले लियोनल मेस्सीको पासमा गोल गरेका थिए । इबरसँग १–१ को बराबरी खेल्दा अङ्क बाँड्न पुगेको बार्सिलोनाको हुएस्का विरुद्धको जितमा मेस्सी, ओसमाने डिम्बाला र पेड्रिको प्रयास महत्वपूर्ण रह्यो । गोलकिपर अल्भारो फर्नान्डेजले उत्कृष्ट बचाउ गरे ।
जितसँगै बार्सिलोना शीर्ष स्थानको एटलेटिको मड्रिडभन्दा दश अङ्क कम २८ अङ्क बटुलेको छ । एटलेटिकोले बार्सिलोनाभन्दा एक कम १५ खेल खेलेको छ । दोस्रो स्थानको रियल मड्रिडले १७ खेलबाट ३६ अङ्क बटुलेको छ । रियल सोसिडाडको ३० र चौथो स्थानको भिल्लारियलको २९ अङ्क छ ।
यता, मेस्सीले बार्सिलोनाका लागि ७५० औं खेल र ला लिगामा ५०० औं खेल पूरा गरे ।