२०८१ माघ २७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

हामीले विदेशमा एउटै बोटमा धान्न नसक्ने गरी गोलभेँडा फलेको देखेका हौँ तर अहिले नेपालमा त्यो पनि पहाडी जिल्लामा टनेलमा यस्तै खेती शुरु गरिएको छ । लकडाउनको समयमा आमनागरिक घरभित्रै रहिरहँदा दुई दाजुभाइलाई भने टमाटर खेतीले भ्याईनभ्याई छ । सङ्खुवासभाको खाँदबारी नगरपालिका ४ मा १५ कट्ठामा लगाइएको गोलभेँडा राम्रो मूल्यमा बिक्री गरिरहेका बलबहादुर राई र गङ्गाराज कुलुङले मनग्गे आम्दानी लिइरहनुभएको छ ।

यो समयमा टमाटरको माग उच्च हुन्छ भन्ने बुझेका दाजुभाइले हाल दैनिक तीन सय किलोभन्दा बढी टमाटर उत्पादन गरेर बिक्री गर्दै आउनुभएको छ । अन्य सिजनको समयमा भन्दा यो बेला उच्च मूल्यसमेत पाउने भएकोले टनेल बनाएर टमाटर उत्पादन गर्नुभएको हो । अहिले सङ्खुवासभाको बजारमा टमाटरको मूल्य प्रतिकिलो १६० रुपियाँ छ । जिल्लाका व्यापारीहरूलाई भने १२० रुपियाँको दरले उपलब्ध गराउँदै आउनुभएको छ ।
हाल भइरहेको उत्पादनले सम्पर्कका व्यापारीहरूको माग धान्न नसकेको कृषक बलबहादुर राईको भनाइ छ । लकडाउनको समयमा तराईको तरकारीहरू अत्यन्तै कम आउने र स्थानीय उत्पादन पनि न्यून भएकोले बजार माग उच्च रहेको राईको भनाइ छ ।

व्यापारीले माग गरे जत्ति दिन नसकेपछि कत्तिपय बारीमै आइपुग्ने गरेको राईले बताउनुभयो । ‘मागेजति दिनै सकिँदैन, यो पटक तपाईंलाई पुग्दैन भन्दा पनि बोटमै लिन आईपुग्छन्’, कुषक राईले भन्नुभयो ।
१२ वटा टनेल बनाएर टमाटर उत्पादन गर्दै आएका दाजुभाइले दुई जनालाई रोजगारीसमेत दिनुभएको छ । गोडमेल र टमाटर टिप्नको लागि एक पुरुष र एक महिलालाई रोजगारी दिँदैआउनुभएको हो । यो समयमा अत्यधिक वर्षात हुने भएकोले टनेल अनिवार्य रहेको कृषक गङ्गाराज राईको भनाइ छ । टनेलबाहिर रोपे वर्षाको कारण मर्ने, फल नलाग्ने भएकोले अनिवार्य टनेल हाल्नुपरेको कुषक राईको भनाइ छ ।


सुरुमा पाँचलाख रुपियाँ लगानीबाट सुरु गरिएको खेतीबाट अहिले आफुहरू सन्तुष्ट रहेको बलबहादुर राईको भनाइ छ । लकडाउनको समयमा मात्र करिब पाँच लाख रुपियाँ बराबरको टमाटर बिक्री भइसकेको राईको भनाइ छ । पहिलो लटमा अनुभवको लागि एउटा टनेलभित्र र टनेलबाहिर टमाटर लगाएको र राम्रो उत्पादन हुने देखिएपछि १२ वटा टनेलमा बिरुवा लगाएको कुलुङले जानकारी दिनुभयो । आफ्नो पाँच रोपनीबाहेक वार्षिक ५० हजार रुपियाँ तिर्ने गरी जग्गा भाडामा लिएर दुई दाजुभाइले खेती सुरु गरेको बताएका छन् ।

भाइ गङ्गाराज आफैँ पनि कृषि प्राविधिक ९जेटिए० हुन् । कृषि प्राविधिकको रुपमा लामो समय प्रोजेक्टमा काम गरिसकेपछि उक्त जागिर छोडेर आफैँले खेती सुरु गरेका हुन् । दुई दाजुभाइलाई भतिजी छोरीले पनि प्राविधक सहयोग गर्दै आएको बताएका छन् । भतिजी पनि आईएसई एजी हुन् । प्राविधिक रुपमा पुग्दो जनशक्ति रहेको दाजुभाइले अन्य तरकारी खेती पनि लगाउने तयारी गरिरहेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!