
विराटनगर, २६ पुस । झापाको केर्खाबाट विराटनगर आउँदै गरेका एक युवकको बाटोमै मृत्यु भएको छ । मृत्यु हुनेमा झापा केर्खाका २६ वर्षीय राजकुमार थापा रहेका छन् ।
आइतबार झापाबाट विराटनगर आउने जनसेवा यातायात प्रालीको मे १ ख ३३३३ नम्बरको बसमा सवार उनको बस भित्रै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईले जानकारी दिएका छन् ।
उनका अनुसार ती युवक आज बिहान केर्खाबाट गाडी चढेका थिए । मृगौला रोगी रहेका उनी घरबाट उपचारका लागि भन्दै एक्लै विराटनगर आएका थिए । गाडीका सबै यात्रुहरु ओलिसकेपछि उनलाई हेर्दा मृत अवस्थामा भेटिएपछि गाडीका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले झापाको केर्खामा रहेका उनका आफन्तलाई उनकै मोबाइलमा रहेको फोन नम्बरका आधारमा सम्पर्क गरेर बोलाएको छ ।
प्रहरीले मृतकको साथमा रहेको मोवायलसहित अन्य सामाग्रीबाट प्रारम्भिक अनुसन्धान सुरु गरेको छ ।