
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दललाई जनतालाई अपार विश्वास गरी मुलुकमा राजनीतिक स्थिरता दिए पनि सरकारलाई काम गर्न बाधा उत्पन्न गरिएको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा उठेका एवं समसामयिक विषयमा आज वक्तव्य दिँदै उनले जनादेशाअनुसार सरकार अघि बढिरहे पनि बहुमतलाई खण्डित गर्ने र अनुचित अलोकतान्त्रिक लेनदेन गरेर मुलुकको राजनीतिलाई अस्थिरतातर्फ उन्मुख बनाउन खोजिएको टिप्पणी गरे ।
उनले प्रतिनिधिसभा लगातार पाँच वर्ष चल्ने तथा देश, जनता, संविधान र लोकतन्त्रको रक्षामा जाने सोचिएको भए पनि सरकारलाई काम गर्न बाधा उत्पन्न गर्ने र छ-छ महिनामा सरकार फेर बदल्ने मनशायले राजनीतिक अस्थिरता उत्पन्न गर्ने काम भएको बताए । अलिकति समयअघि नै प्रतिनिधिसभा विघटन भई नयाँ निर्वाचनका लागि जनादेशमा जाने निर्णय गरिएको बताउँदै उनले अब देश निर्वाचनोन्मुख भएको उल्लेख गरे ।
यही पुस १७ गतेदेखि शुरु भएको हिउँदै अधिवेशनको बैठकमा प्रधानमन्त्री ओलीले भने, “जनताको इच्छा पाँच वर्ष सरकार टिकोस् भन्ने थियो । सरकार सञ्चालन गर्ने दलभित्रै चरम अस्वस्थताको अवस्था आयो । सरकारका प्रस्ताव निर्णयार्थ पेश पनि नगरिदिने प्रयास भयो । ”
वर्तमान सरकार गठन भएयता भौतिक विकासनिर्माण, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा ऐतिहासिक काम भएको जनाउँदै उहाँले आफ्नो अघिल्लो कार्यकालमा शिलान्यास गरिएको रानीपोखरी यसपालि निर्माण सम्पन्न भएको बताए ।
प्रधानमन्त्री ओलीले भूकम्पले क्षतिग्रस्त करीब सात लाख घर निर्माण सम्पन्न भएको, धरहरा पुनःनिर्माण अन्तिम चरणमा पुगेको, काठमाडौँको सौन्दर्य अभिवृृद्धि भएको, सांस्कृतिक सम्पदाको निर्माण भएको, तराईका शहरमा सयौँ किमी ढल निर्माण गरी सफा गरिएको, सिंचाइ, सडक, कृषिको आधुनिकीकरण र व्यावसायिकरण, औद्यौगिक क्षेत्र विकास र विस्तार तथा शिक्षा र स्वास्थ्यका क्षेत्रमा धेरै काम भएको विवरण प्रस्तुत गर्दै अहिलेको जस्तो द्रुततर गतिमा विकासनिर्माणका काम कहिल्यै नभएको जिकिर गरे ।