
काठमाडाैं । नेपाली कांग्रेसका नेता डा रामशरण महतले पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वका रुपमा मनाउनुपर्ने बताएका छन् । विश्व हिन्दू महासङ्घ नेपालले २९९औँ पृथ्वी जयन्तीका अवसरमा आज आयोजना गरेको ‘नेपालको सनातन धर्म संस्कृति संरक्षणको क्षेत्रमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको योगदान’ विषयक विचार गोष्ठीमा उनले नेपाललाई अहिलेको अवस्थामा पुर्याउनका लागि शाहको महत्वपूर्ण योगदान रहेको बताएका हुन् ।
“पृथ्वीनारायण शाहले नेपाल एकीकरण नगरेको भए नेपाल बेलायतको अधिनमा पुगिसक्थ्यो, उहाँकै योगदानका कारण हामी अहिले नेपाली भएर बाँच्न पाएका छौँ”, डा महतले भने । पूर्वअर्थमन्त्री महतले पृथ्वीनारायण शाहले सामाजिक अर्थनीतिलाई अगाडि बढाएको उल्लेख गरे ।
जनताको भावनालाई कदर गर्ने व्यक्ति पृथ्वीनारायण शाह भएको उनको भनाइ थियो । डा महतले पृथ्वीनारायण शाहको दिव्यउपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए ।