
विराटनगर, २७ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दाहाल–नेपाल समूहले मुख्यमन्त्री शेरधन राईलाई निलम्बन गरेकाे छ । दाहाल-नेपाल समूहले मुख्यमन्त्री राईलगायत आठ जनालाईतीन महिनाका लागि निलम्बन गरेको हो ।
साेमबार सो समूहले प्रदेशसभाको कुनैपनि गतिविधिमा सहभागी हुन नपाउने गरी मुख्यमन्त्री राई, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ्, प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, प्रदेश सभा सदस्यत्रय इन्द्रमणी पराजुली, अम्बिका थापा र विमल कार्कीलाई निलम्बन गरेको हो ।
दाहाल नेपाल समूहका संसदीय दलका नेता भीमप्रसाद आचार्यले हस्ताक्षर गरेकाे निलम्बन पत्रमा दलको कुनैपनि बैठकमा उपस्थित नभई पार्टी र सरकारको हितविपरीत गतिबिधिमा संलग्न रहेकाले प्रदेशसभाको कुनैपनि गतिविधिमा संलग्न नहुनेगरी नेकपाको संसदीय दलको बिधान २०७६ बमोजिम तीन महिनाका लागि निलम्बन गरेको उल्लेख छ ।
उनीहरुलाई निलम्बन गरेको बोधार्थ प्रदेशसभा सचिवालयमा दर्ता गराएको सचिव गोपालप्रसाद पराजुलीले बताए । दाहाल नेपाल समूहका उपनेता टंक आङ्बुहाङले आठै जनालाई हुलाक र कुरियरबाट निलम्बनको पत्र पठाइएको बताए ।