
लमजुङ, २८ पुस । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले संविधानको संरक्षण र कार्यान्वयन गर्नका लागि कांग्रेस चुनावमा सहभागी हुने बताएका छन् । लमजुङ सुन्दरबजार नगरपालिका–३ मा आज कांग्रेस वडा भवनको शिलान्यास कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
‘संविधानको मर्म तथा विधिअनुसार संविधानमा टेकेर चुनाव हुने भएमा आफ्नो पार्टी चुनावबाट भाग्ने छैन,’ उनले भने, ‘जनता नै सबैभन्दा ठूलो अदालत भएकाले जनतासामु जान कांग्रेस तयार छ ।’
सर्वोच्च अदालतले निर्वाचनको पक्षमा निर्णय गरेमा निर्वाचनमा भाग लिनुपर्ने भन्दै कार्यकर्तालाई तयारी रहनसमेत उनले आग्रह गरे । पार्टीको महाधिवेशनभन्दा पनि अहिलेको परिस्थितिमा जनताको मत र अधिकारको रक्षा गर्नु महत्वपूर्ण कुरा भएकाले मध्यावधि चुनावका लागि तयार हुनुपर्ने उनको भनाइ छ ।
नेता रिजालले संसद् विघटनको विषयमा भावना र अनुमानको भरमा व्याख्या गर्दै नबोल्न कार्यकर्तालाई आग्रह गरे । न्याय दिने अन्तिम ठाउँ नै सर्वोच्च रहेकाले सर्वोच्चले गरेको निर्णयलाई सबैले स्वाकार्नुपर्नेमा उनले जोड थियो ।