२०८१ फाल्गुन १       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

गलकोट, २९ पुस । अलि पहिल्यै गाउँघरमा प्रचलित कथन थियो, ‘चामल खाने धनी, कोदो खाने गरिब’ । गरिबको खान्की भनेर चिनिँदै आएको अन्न कोदोका परिकारप्रति पछिल्लो समय धनीको आकर्षण बढ्न थालेको छ । अहिले होटल, रेष्टुँरा तथा घरवासमा पुगेका पर्यटकले कोदोको परिकार खुब मिठो मानेर खान थालेका छन् भने घरवास सञ्चालक कुनै दिन गरिबको खानाको रूपमा चिनिएको कोदोका परिकार बनाएर मनग्य आम्दानी लिन थालेका छन् ।

सामान्यतयाः कोदोको ढिडो, रोटी खाना र खाजाको रूपमा प्रयोग गरिन्छ । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरवासमा भने कोदोको सेलरोटी प्रमुख आकर्षणका रूपमा छ । बर्खामा आलु र हिउँदमा कोदोको ढिडो र सेलरोटी घरवासको विशेष आकर्षणको रुपमा राखिएको छ । घरवास पुग्ने पाहुनाले चामलको सेल रोटी खाएको भए पनि कोदोको सेल नखाएको भन्दै खुब रुचाउँदै खाने गरेको घरवास सञ्चालक बताउँछन् ।

कोदोको सेलरोटीले आगन्तुक पाहुनालाई निकै लोभ्याउँदो रहेछ । आगन्तुक पाहुनाले कोदोको ढिडो, कोेदोको सेलरोटी, फापरको परिकार, उसिनेका आलु, सिल्टुमरको चटनी, आलु चिप्स, आलु अचार, आलु रोटीलगायतका परिकारले आन्तरिक तथा बाह्य पाहुनाको मन जित्ने गरेको घरवास सञ्चालक माया घर्तीले बताइन् । उच्च पहाडी गाउँको चिसो स्थानमा पाइने कोदो र आलु स्वादिलो हुने भएकाले पाहुनाले कोदो र आलुका विभिन्न परिकारका स्वाद निकै मिठो मानेर खाने गरेको बेलढुङ्गा सामुदायिक घरवासका सचिव गोपाल श्रीसले जानकारी दिइन् ।

“आगन्तुक पर्यटक र पाहुनालाई उनीहरुको इच्छाअनुसार खुवाउने चलन भए पनि हाम्रोमा कोदोको सेल र उसिनेको आलु अनिवार्य छ । आलु र कोदोको परिकारलाई नै मुख्य आकर्षण बनाएका छौँ, जसमध्ये कोदोको सेलरोटी र उसिनेको आलु प्रमुख परिकारका रूपमा लिइएको छ,” उनले भनिन् ।

सामान्यतया सेलरोटी चामलको पिठोबाट बनाउने भए पनि ओखलेका महिलाले कोदोको पिठोबाट सेलरोटी बनाउने गरेका छन् । जुन अलि पृथक र फरक स्वादको रूपमा घरवासमा आएका पाहुनाले खाने गरेका छन् । कोदोको सेल निकै फरक र स्वादिष्ट रहेको घरवास पुग्नुभएका बागलुङ बजारका मनकुमारी केसीले बताइन् । कोदोको सेल र आलुको परिकारले बागलुङका अन्य घरवासको तुलनामा बेलढुङ्गा घरवासको छुट्टै पहिचान दिन सफल भएको आन्तरिक पर्यटक दीपक गौतमले बताए ।

कोदोको सेलरोटी र आलुको परिकारसँगै सिस्नोको खोले, फापरको पिठो, मकै, भटमास, बाँकाको सिन्कीलगायतका परिकारको समेत स्वाद लिन सकिन्छ । हाल एक रातमा ५० जना आरामदायीरूपमा बस्न मिल्ने गरी १२ घरमा घरवास व्यवस्थित गरिएको घरवास सञ्चालक उमा श्रीसले जानकारी दिइन् ।

बागलुङको धम्जा ओखले र म्याग्दीको भकिम्लीको सीमामा अवस्थित दुई हजार ६०० मिटर उचाइमा रहेको पर्यटकीयस्थल बेलढुङ्गाको अवलोकनका लागि आन्तरिक पर्यटक बढ्दै गएपछि दुई वर्षअघिदेखि घरवास सञ्चालनमा ल्याइएको थियो । बेलढुङ्गामा सूर्योदय, हिमाल र सुन्दर मनोरम प्राकृतिक दृश्यावलोकन गर्न पर्यटक आउने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!