
काठमाडाैं, १ माघ । भारतीय समकक्षी एस जयशंकरको औपचारिक निमन्त्रणमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भारत प्रस्थान गरेका छन् । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन मन्त्री ज्ञवाली बिहिबार भारतको नयाँदिल्लीतर्फ गएका हुन् । बैठक तीन दिनसम्म चल्ने छ ।
परराष्ट्र मन्त्रालयका अनुसार संयुक्त आयोगको बैठकमा नेपाल–भारत द्विपक्षीय सम्बन्धका साथै व्यापार, ऊर्जा, सीमा, पारवहन, कोभिड–१९ सहकार्य, पूर्वाधार, कनेक्टिभिटी, लगानी, कृषि, पर्यटन लगायतका विषयमा छलफल हुनेछ ।
परराष्ट्रमन्त्रीको भ्रमणबारे बल्ल बोल्यो भारत
भारतले ज्ञवाली नयाँ दिल्ली ओर्लनु केही घण्टाअघि मात्र उनको भारत भ्रमणका सम्बन्धमा औपचारिक जानकारी दिएको छ । भारतको विदेश मन्त्रालयले बिहीबार बिहानमात्र एक विज्ञप्ति जारी गर्दै मन्त्री ज्ञवालीको भ्रमण तालिका सार्वजनिक गरेको हो ।
नेपालले यसअघि नै भ्रमणका बारेमा औपचारिक रुपमै बताइसके पनि भारतले भने केही बोलेको थिएन । अन्य मुलुकबाट हुने उच्चस्तरीय भ्रमणलाई केही दिनअघि नै औपचारिक जानकारी गराउने गरेको भारत सरकारले मन्त्री ज्ञवालीको दिल्ली आगमनका बारेमा भ्रमणकै अघिल्लो दिनसम्म पनि केही नखुलाउँदा निकै अनौठो मानिएको थियो । जबकि पछिल्लो एक वर्षमा दुई देशको सम्बन्धमा आएको उतारचढावका कारण भ्रमणप्रति निकै चासो रहेको पाइन्छ ।